आधा लाख उम्मेदवार तय



काठमाडौं, (नेस)
पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ४९ हजार ७ सय ५४ जनाले उम्मेदवारी दिएका छन्। तीन प्रदेश, ३४ जिल्लाको २ सय ८३ स्थानीय तहको कुल १३ हजार ५ सय ५६ पदका लागि सो संख्यामा उम्मेदवारहरूले मनोनयन दर्ता भएको हो।

अध्यक्ष तथा प्रमुखमा १ हजार ९ सय ४३, उपप्रमुख तथा उपाध्यक्षमा १ हजार ४ सय ४५, वडाध्यक्षमा १० हजार ९ सय ६०, दुई पद वडा सदस्यमा १८ हजार ६ सय ८४, वडा सदस्य महिलामा ९ हजार १ सय ३९, दलित वडा सदस्यमा महिला ७ हजार ५ सय ८३ गरी जम्मा ४९ हजार ७ सय ५४ जना उम्मेदवारले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो।
सबैभन्दा बढी काठमाडौं महानगरपालिकाका ८ सय ८७ र सबैभन्दा कम मनाङ जिल्लाको नारफू गाउँपालिकामा २३ जनाको उम्मेदवारी दर्ता भएको छ।

यस्तै, पोखरा–लेखनाथ महानगरपालिकामा ८ सय ६५, भरतपुर महानगरपालिकामा ७ सय र ललितपुर महानगरपालिकामा ६ सय ३८ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी फिर्ताको विवरण संकलन आएपछि यसमा हेरफर हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्