५ सय ३९ को उम्मेदवारी हिमनाथ देवकोटा, रसुवा



रसुवामा स्थानीय तहको चुनावका लागि ५ सयभन्दा बढीले उम्मेदवारी दिएका छन्। जिल्लामा रहेको ५ वटा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रतर्फबाट ५ सय ३९ जनाले उम्मेदवारी दिएका हुन्।

गाउँपालिकामा १ सय ४५ जना आवश्यक रहेको रसुवामा गोसाइँकुण्डमा ८६ जना, पार्वतीकुण्डमा १ सय १ जना, कालिकामा १ सय १३ जना, नौकुण्डमा १ सय २७ जना र उत्तरगयामा १ सय १२ जना गरी ५ सय ३९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिए।

अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यका लागि उम्मेदवारी दिएको बताइएको छ। जिल्लामा दर्ता भएका ९ वटा दलमध्ये ५ वटा राजनीतिक दलले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।

३ जना महिला प्रमुखमा उम्मेदवारी
जिल्लामा क्रियाशील राजनीतिक दलले तीन जना महिलालाई गाउँपालिका प्रमुखमा उठाएका छन्। नयाँ शक्ति पार्टी नेपालले गोसाइँकुण्डमा कामी बुटी तामाङ, नेकपा माओवादी केन्द्रले नौकुण्डमा फूलमाया वाइबा, र नेकपा एमालेले कालिका गाउँपालिकामा सीताकुमारी पौडेल अधिकारीलाई गाउँपालिकाको प्रमुखमा उठाएको छ।

एक दर्जनभन्दा बढीको स्वतन्त्र उम्मेदवारी
पार्टीले उम्मेदवार छनोट मनपरी ढंगले गरेको भन्दै जिल्लामा क्रियाशील राजनीतिक दलका एक दर्जन नेता तथा कार्यकर्ताले गाउँपालिकाको प्रमुखका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

स्थानीय तहको चुनावका लागि विभिन्न पार्टीबाट असन्तुष्ट भएकाहरूले स्वतन्त्रबाट उम्मेदवारी दिएका नेताहरूले बताएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका पार्टी उपाध्यक्षदेखि पार्टी सदस्यसम्मकाले स्वतन्त्र उम्मेदवारी दिएको बुझिएको छ।

गाउँपालिकाको अध्यक्षका लागि कालिका गाउँपालिकाबाट विष्णु देवकोटा र वडा नम्बर ३ का वडाध्यक्षका लागि बाबुराम तामाङ, पार्वतीकुण्ड गाउँपालिकामा अध्यक्षका लागि टासिदोर्जे घले र कामी स्याङ्बो तामाङ, नौकुण्ड गाउँपालिकामा गोपी घले र लक्षिननुर्पु तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यस्तै गोसाइँकुण्ड गाउँपालिकामा उपाध्यक्षका लागि नुर्पु ग्याम्जो तामाङ र वडा नम्बर ३ को अध्यक्षका लागि छिरिङ गुरुङ्सेनीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

दलित उम्मेदवार पाएनन्

जिल्लामा क्रियाशील राजनीतिक दललाई दलित उम्मेदवार उठाउन मुश्किल भएको छ। ५ वटा गाउँपालिका रहेको रसुवामा दलित बस्ती नरहेको वडामा दलित उम्मेदवार उठाउन समस्या भएको नेताहरूले बताएका छन्।

विशेष गरी जिल्लाको माथिल्लो भेगको थुमन, लाङटाङ, बृद्धिम टिमुरेमा दलितको बसोबास नरहेकाले राजनीतिक दलले दलित उम्मेदवार छनोट गर्न नसकेका हुन्।

स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्यरूपमा उम्मेदवार बनाउनुपर्ने प्रावधान भए पनि राजनीतिक दललाई दलित उम्मेदवार भेटाउनै मुश्किल परेको हो।

प्रतिक्रिया दिनुहोस्