स्वतन्त्र प्यानलको दाबेदारी



ललितपुर, (नेस)
‘पार्टीबाट चुनाव जिते नेताबाट निर्देशित हुन्छ, स्वतन्त्रले चुनाव जिते समाजबाट निर्देशित हुन्छु भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–१८ बाट वीरेन्द्र थापाको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी दर्ता भएको छ। वडालाई ‘हाइटेकु बनाउने योजना बनाएको सो प्यानलको पाँच सदस्यमा महिलाको बर्चस्व रहेको छ। थापा अध्यक्ष रहेको प्यानलमा विजय महर्जन र महिला सदस्यहरुमा सुनीता लामा र लक्ष्मी उपाध्याय केसी र दलित महिला सदस्यमा सरू पहेंली रहेकी छिन्।

हरेक वडा प्रशासनलाई चुस्त र दुरुस्त बनाउने, वडाको सम्पूर्ण कामको विवरण वेबसाइटमा राख्ने, वडा कार्यालय भवन निर्माण, पार्क मठ–मन्दिरलाई कलात्मकरूपमा संरक्षण गरी छिमेकी वडासँग सहकार्य गर्ने, पर्यटक पदमार्ग निर्माण गर्ने सो प्यानलको योजना छ। त्यसै गरी धार्मिक पर्यटकीय पदमार्गको विकास, जेष्ठ नागरिकका लागि डे केयर सेन्टर स्थापना, पार्क र हरियाली निर्माण, घरेलु उद्योग र अन्य कलकारखाना खोल्न प्रक्रियागत सहयोग गर्ने सो प्यानलको घोषणापत्रमा उल्लेख छ।

योग्यताअनुसार रोजगारीको लागि स्थानीयलाई प्राथमिकता दिने, वडाको टोल टोल, बाटोघाटोमा सीसीटीभी जडान गर्ने, वडा कानुनलाई कडाइका साथ पालना गर्न लगाउने, १८ नम्बर वडालाई स्वच्छ, सफा हराभरा, धूलोरहित, शान्त र महानगरपालिकाको नमुना वडाको रूपमा विकास गर्ने घोषणा गरिएको छ। करिब २ हजार ८ सय मतदाता रहेको सो वडा स्थानीय निकायको पुनर्संरचना भएसँगै ललितपुर महानगरपालिकाको १८ नम्बर वडा भएको हो। भैंसेपाटी, खोकना, बुङमति गाभेर १८ र २५ वडा बनाइएको थियो। अध्यक्षका प्रयासी थापाले आफ्नो समूह कुनै पनि दलसँग आबद्ध नभएको र वडाको विकासका लागि सक्रियताका साथ अघि बढ्ने बताए। ‘भोट दिने जनताले काम गर्नेको मूल्यांकन गरेर विजयी गराउनहुन्छ भन्ने हाम्रो विश्वास छु –उनले भने।

प्रतिक्रिया दिनुहोस्