१ सय ९८ पदमा १ हजार ११



पुष्कर बुढाथोकी, भक्तपुर
स्थानीय तहको निर्वाचनका लागि भक्तपुरका चार वटा नगरपालिकामा कुल १ सय ९८ पदका लागि १ हजार ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मेयर, उपमेयर, वडा अध्यक्ष, खुला वडा सदस्य दुई, दलित महिला एक र महिला एक गरि कुल ७ वटा पदका लागि चाँगुनारायणमा २ सय ९१, भक्तपुरमा २ सय २२, मध्यपुरथिमिमा २ सय १६ र सूर्यविनायक नगरपालिकमा २ सय ८२ जनाले उम्मेदवारी दिएका छन्।

साँझ ५ बजे कार्यालय हाताभित्र प्रवेश गरेका उम्मेदवारले दर्ता गरेको उम्मेदवारीको कागजी प्रक्रियामा भने राति २ जबेसम्म चलेको थियो। भक्तपुरका चारवटै नगरपालिकामा उम्मेदवारको दाबीविरोध भने कतै पनि नपरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। भक्तपुरको चार वटा नगरपालिकामा ५० जनाले मेयरमा र २९ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको भक्तपुर, सूर्यविनायक, चाँगुनारायण, र मध्यपुरथिमि नगरपालिकामा ४ मेयरका लागि १२ गुणा बढी उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय जिल्ला निर्वाचन अधिकृत उमेश राईले बताए।

उनका अनुसार मेयरमा सबभन्दा बढी चाँगुनारायणमा १८, मध्यपुरथिमिमा १४ र सूर्यविनायकमा १० र भक्तपुर नगरपालिकामा ८ जनाको उम्मेदवारी परेको छ। उपमेयरमा चाँगुनारायणमा १०, सूर्यविनायकमा ९,भक्तपुरमा ६, मध्यपुरथिमिमा ६ जनाले उम्मेदवारी दिएका छन्। ४ नगरपालिकाको ३८ वडामध्ये चाँगुनारायणमा ६८, भक्तपुरमा ६६, मध्यपुरथिमिमा ५६ र सूर्यविनायक नगरपालिकामा ६५ जना गरी २ सय ५५ जनाले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्।

त्यसै गरी प्रत्येक वडाका दुई वडा सदस्य गरी कुल ७६ वडा सदस्यमा चाँगुनारायणमा १ सय ४, भक्तपुरमा ९०, मध्यपुरथिमिमा ८२ र सूर्यविनायकमा १ सय ८ जना गरी कुल ३ सय ८४ जनाले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। प्रत्येक वडामा १ जना दलित महिलाका दरले ३८ सदस्यका लागि चाँगुनारायणमा ३६, भक्तपुरमा ८, मध्यपुरथिमिमा १६ र सूर्यविनायकमा २८ गरी ८८ जना दलित महिलाले उम्मेदवारी दिएका छन्। प्रत्येक वडाको १ महिलाका दरले ३८ जना महिला सदस्यका लागि सूर्यविनायकमा ६४, चाँगुनारायणमा ५५, भक्तपुरमा ४४, मध्यपुरथिमिमा ४२ जना गरी २ सय ५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्