उम्मेदवारका साझा एजेन्डा धरहरा र काष्ठमण्डप



ईश्वरराज ढकाल, काठमाडौं
भूकम्प गएको दुई वर्ष पुगिसक्दा पनि महानगर क्षेत्रको सम्पदा पुनर्निर्माण कछुवाको गतिमा अघि बढिरहेको छ।

सम्पदा पुनर्निर्माण लथालिङ्ग अवस्थामा छ। सम्पदा पुनर्निर्माण गर्ने विषयमा सरकारको उदासिनतालाई मलमपट्टी लगाउन अहिले घरदैलो गरिरहेका राजधानीका उम्मेदवार धरहरा र काष्ठमण्डप पुनर्निर्माण गर्ने वचन दिँदै हिँड्न थालेका छन्।

काठमाडौंको चिनारी काष्ठमण्डप कसले बनाउने, स्थानीयले कि सरकारले ? भन्ने विषय उत्सर्गमा पुगेको छ। स्थानीय भन्छन्º– हामी आफै बनाउछौं। तर पुरातत्त्व विभागले भने स्थानीयलाई दिने विषयमा सोच्नुपर्छ।

घरदैलो गरिरहेका उम्मेदवारले धरहरा र काष्ठमण्डपलाई महानगरपालिका आफैले बनाउने दाबी गर्दै हिँड्न थालेका छन्। काठमाडौं महानगरपालिकाका नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले काण्ठमण्डपको पुनर्निर्माण स्थानीय जनताको सहभागितामा गर्नुपर्ने बताउनुहुन्छ।

उहाँले विश्वकै लागि चर्चामा रहेको काष्ठमण्डप पुनर्निर्माणलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। धरहरा पुनर्निर्माण गर्ने विषयमा उहाँले इतिहासलाई नमेटिने गरी पुनर्निर्माण गरिने बताउनुभयो। उहाँले नेपालकै गौरवका रूपमा रहेको धरहरा पुनर्निर्माण काठमाडौं महानगरपालिकाबाटै गरिने जानकारी दिनुभयो।

एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफू विजयी हुनासाथ काष्ठमण्डप र धरहराको पुनर्निर्माण शुरू गर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘दुईवटै सम्पदा काठमाडौं महानगरपालिकाले निर्माण गर्नेछ।’ स्थानीय जनताको समेत सल्लाह लिएर भूकम्पबाट ध्वस्त भएको धरहरा र काष्ठमण्डपलगायतका सम्पदा पुनर्निर्माणको काम अघि बढाइने उहाँको धारणा रहेको छ।

‘सरकारकै सल्लाहमा आम नेपालीको सहयोगमा धरहरा पुनर्निर्माण गर्नेछौं, यो त काठमाडौं महानगरपालिकाको सम्पत्ति हो महानगर आफैले बनाउनेछ।’ –उहाँले भन्नुभयो। स्थानीय आफैले काष्ठमण्डप पुनर्निर्माण गर्न पाउनुपर्ने माग गर्दै अभियान नै सञ्चालन गर्दै आएको अवस्थामा महानगरका उम्मेदवारले सबैको साथ र सहयोगबाट पुनर्निर्माण गर्ने बताएका छन्।

साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापाले जनताको सहभागितामा काष्ठमण्डप पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘यसलाई त एउटा स्मारक बनाएर राख्नुपर्छ, ध्वस्त भएको स्थानलाई संरक्षण गरी भूकम्पबाट मुत्यु भएकाहरूको सम्झनामा स्मारक बनाएर राख्नुपर्छ।’

आधुनिक धरहरा बनाएर भीडभाड गराउनुभन्दा पहिला जस्तो अवस्थामा थियो त्यस्तै बनाउनुपर्छ।

अधिकांश मेयरका उम्मेदवारले धरहरालाई अत्याधुनिक बनाउने पक्षमा छैनन्। काष्ठमण्डपलाई भने स्थानीयको सहभागितामा पुनर्निर्माण गरिनुपर्ने बताएका छन्। अधिकांश दलको घोषणापत्रमा धरहरा, काष्ठमण्डपलगायत पुरातात्विक महत्त्वका सम्पदालाई पुनर्निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ राखेका छन्।

पुरातत्त्व विभागले करिब २८ रोपनी क्षेत्रफल ओगट्ने गरी अत्याधुनिक धरहरा निर्माण गर्ने तयारीमा जुटेको अवस्थामा उम्मेदवारले नयाँ धारणा सार्वजनिक गरेपछि अब कसरी बनाउने? भन्ने विषय अन्योलमा पुग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्