संविधान संशोधनको जिम्मा देउवाको काँधमा प्रचण्डले भावुक हुँदै भने– “राप्रपाले धोका दियो”



बीपी साह, काठमाडौं
अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवं भावी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा पुगेको छ।

प्रधानमन्त्री एवं माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकामा दुःख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धोका दिएको आरोप लगाउनुभएको छ।

आफ्नो कार्यकाल सकिनै लागेपछि बुधबार अबेर रातिसम्म प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का चार जना नेतासँग छलफल गर्नुभएको हो।

प्रचण्डले सबभन्दा पहिले राजपाको सहयोग माग्नुभएको थियो। सरकार परिवर्तनको करिब दश दिन बाँकी रहँदासमेत सरकार ढल्न सक्ने चिन्ताले प्रधानमन्त्रीलाई सताएको रहे छ। प्रधानमन्त्रीले जेठ पहिलो सातासम्म आफ्नो सरकारलाई टिकाइराख्न राजपाको सहयोग माग्नुभएको हो।

छलफलमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘संविधान संशोधनका लागि मैले हरसम्भव प्रयास गरेकै हुँ। अहिले पनि प्रयासरत नै छु। जाँदाजाँदै पनि संविधान संशोधन मेरै कार्यकालमा होस् भन्ने चाहेको छु। तर परिस्थितिले साथ दिएको छैन।’

राप्रपाका नेताहरूले संविधान संशोधनमा धोका दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘तपार्इंहरूले चाहनुहुन्छ भने म संशोधन पेस गर्न सक्छु तर पारित हुने विश्वास दिलाउन सक्दिनँ। त्यसकारण अहिले उचित परिस्थितिको खोजीमा छु।’ बुधबार रातिको बैठकमा प्रधानमन्त्रीले बिहीबार नै मधेस आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता र बन्दीहरूलाई रिहा गर्ने विश्वास दिलाउनुभएको थियो। प्रधानमन्त्री प्रचण्डसमक्ष राजपाका नेताहरूले भने– ‘तपाईंले प्रयास गर्नुभयो। त्यसका लागि धन्यवाद तर संशोधन नभई हामी निर्वाचनमा जान सक्दैनौं भन्ने कुरामा प्रस्ट हुनुस्।’ प्रचण्डले देउवातिर संकेत गर्दै अब आउने सरकारले निश्चिय नै संशोधन गर्ने र मधेसी मोर्चाको बाँकी माग पूरा गर्ने बताउनुभयो। प्रचण्डले जेठको पहिलो साता देउवा प्रधानमन्त्री हुने पनि बताउनुभयो।

संशोधन पारित हुने सम्भावना नभएपछि संसद् स्थगित
बिहीबारको व्यवस्थापिका संसद् प्रतिपक्षीले अवरुद्ध गर्ने चेतावनी दिएपछि बैठक सूचना टाँसी स्थगित भएको छ। संविधान संशोधनका लागि आवश्यक बहुमत पनि नपाएपछि सत्तारूढले बैठक स्थगित गर्न आग्रह गरेका थिए।

बिहीबार बिहान सत्तारूढ र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको छलफलमा महाअभियोगका विषयमा सहमति हुन सकेको थिएन। त्यस्तै, संसद् बैठकअघि पनि सभामुखले सहमतिका लागि प्रयास गर्नुभएको थियो। तर त्यहाँ पनि सहमति हुन सकेको थिएन।

संसद् बैठकअघि प्रमुख सचेतकहरूको बैठकमा पनि एमालेले महाअभियोग फिर्ता नलिएसम्म संसद् अवरुद्ध गर्ने धम्की दिएका थिए। त्यसपछि सत्तापक्षले पनि संविधान संशोधन पारित गर्ने संख्या पुग्ने सम्भावन न्यून रहेको भन्दै बैठक स्थगित गर्न सभामुखलाई सुझाव दिएको थियो। शुक्रबार (आज)का लागि स्थगित गरिएको बैठकमा पनि संविधान संशोधन अगाडि बढ्ने सम्भावना छैन।

आज शुक्रबार संशोधनको टुंगो नलागेको खण्डमा जेठ ५ गते अर्को बैठक बस्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्