दीक्षान्तनजिक शोकविह्वल अभिभावक



मृतक थापाका शोकविह्वल बुबाआमा

व्याकुल पाठक
सुफल्स, साउथ डकोटा, अमेरिका
अमेरिकाको मध्यपश्चिमी राज्य मिनिसोटामा अहिले स्नातक विद्यार्थीको दीक्षान्त समारोह नजिकिएकाले अभिभावक आउने क्रम चलिरहेको छ।

आफ्ना छोराछोरीको सफलतामा खुसी भइरहेका अभिभावकमाझ एउटा अभिभावक जोडी अहिले गम्भीर शोकमा डुबेको छ। जन्मेपछि मृत्यु अवश्यम्भावी छ तर आफूभन्दा पहिला सन्तान गुमाउनुको पीडा हरेक बाबुआमाका लागि असह्य नै हुन्छ।

अझै विदेश गएको दुई वर्षमै सात समुन्द्रपारी अन्जान भूमिमा अकालमा किशोर छोरा गुमाउनुको पीडा अहिले लमजुङ भोटेओडारका सूर्यबहादुर थापा र उनकी पत्नीले सहनुपरिरहेको छ।

अप्रिल २३ मा अमेरिकाको साउथ डकोटास्थित बिग सु नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाएका अरबिन थापाको बुधबार बिहान हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिँंदा अभिभावक आफूलाई सम्हाल्न सक्ने अवस्थामा थिएनन्।

साउथ डकोटास्थित पालिसेड्ज स्टेट पार्कमा पिकनिक मनाउन गएका बेला पौडी खेल्न नदीमा हामफालेका अरबिनको १२ दिनपछि अन्त्येष्टि गरिएको हो। उनी अध्ययनरत साउथवेष्ट मिनिसोटा स्टेट युनिभर्सिटीभन्दा घटनास्थल करिब १ सय किलोमिटर पश्चिममा रहेको छ।

बिग सु नदी त्यति ठूलो नभए पनि स्थानीय प्रहरी तथा जानकारहरूका अनुसार खतरनाक नदी हो। हिउँ पग्लेर बनेको नदी भएकाले यहाँको पानी निकै चिसो हुन्छ। ठाउँ ठाउँमा तिखा ढुंगा र दलदले धाप हुने भएकाले यहाँ पौडी खेल्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। घटनास्थलनजिक पौडी खेल्न प्रतिबन्ध लगाइएको सूचनासमेत टाँसिएको भए पनि त्यसलाई बेवास्ता गर्दै अरबिन नदीमा हामफालेका थिए।

अरबिनका बाबुआमाका अनुसार उनी राम्रो पौडीबाज थिए। सानैदेखि मस्र्याङ्दी नदीमा पौडी खेलेर हुर्केका उनी सजिलै नदी वारपार गर्न सक्थे।

नेपालको उनको त्यो अनुभव अपरिचित अमेरिकी नदीमा काम लागेन। पौडी खेल्न भनेर हामफालेका उनी दुई मिनेटसम्म माथि ननिस्किएपछि सँगै गएका साथीहरूले प्रहरीलाई खबर गरेका थिए।

खबर पाएको १० मिनेटमै प्रहरी पुगेर खोजीकार्य शुरु गरेका थिए। अथक प्रयास गर्दा पनि भोलिपल्ट मात्र उनको शव हामफालेको स्थानभन्दा ५० मिटर तल १२ फिट पानीमुनि भेटिएको थियो।

हिन्दू संस्कारअनुसारको जलाएर अन्त्येष्टि गर्ने स्थान अरबिनको कलेज र अपार्टमेन्ट भएको स्थाननजिक नभएकेले १३० किलोमिटर टाढा साउथ डकोटास्थित सु–फल्समा विद्युतीय शवदाहगृहमा उनको शव पुर्याइएको थियो। अन्त्येष्टिमा मिनिसोटामा रहेका नेपालीहरूको उपस्थिति थियो।

अन्त्येष्टिमा उपस्थित सगुन उपाध्यायले अमेरिकाको हरेक स्थान नेपालीका लागि अपरिचित भएकाले सबै स्थानमा विचार पुर्याएर मात्र व्यवहार गर्नुपर्ने बताउनुभयो।

पछिल्लो समय नेपाली विद्यार्थीहरू नदी तथा समुद्रमा पौडी खेल्ने क्रममा मृत्यु हुने घटना बढिरहेकाले सचेत हुन उहाँले आग्रह गर्नुभयो।

यहाँस्थित नेपालीहरूको पहलमा अरबिनको अन्त्येष्टि तथा परिवारलाई सहयोगका लागि बीस हजार डलर संकलन गरिएको थियो। अन्त्येष्टिमा पाँच हजार डलर खर्च भएको थियो। बाँकी रकम परिवारलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मिनिसोटामा बसोवास गरिरहेका सुवास पाठकले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्