मतदान केन्द्र अपाङगता मैत्री



सन्तोष रुचाल, धनकुटा । करिब २० वर्ष पछि नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन प्रदेश नं. १ लगायत चार वटा प्रदेशमा २०७४ जेठ ३१ गते सम्पन्न हुदैछ ।

उक्त निर्वाचनलाई लक्षित गरी धनकुटा जिल्लाका दुई वटा मतदान केन्द्र अपाङगता मैत्री निमार्ण गरिएको छ । अपाङगता भएका मतदाताहरुलाई मतदान केन्द्रमा गएर मत हाल्नको लागी सहजता पु¥याउने उद्देश्यले धनकुटा नपा–७ स्थित त्रिवेणी मावि मतदान केन्द्र र धनकुटा नपा–३ स्थित भाषा मावि मतदान केन्द्रमा अपाङता मैत्री बाटो निर्माण गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीप शाहले बताउँनुभयो ।

अपाङता मैत्री बाटो निर्माण भएसँगै अपाङता भएका मतदाताहरुलाई ह्वील चियर मार्फत मतदान केन्द्रमा आउन जान सहज हुने भएको छ । जिल्लामा कुल मतदाता ९५ हजार तीन सय ६७ मध्ये एक हजार एक सय ७३ जना अपाङता भएका मतदाता रहेका छन् । चार गाउँपालिका र तीन नगरपालिका रहेको धनकुटामा एक सय १७ वटा मतदान स्थल र एक सय ४३ वटा मतदान केन्द्र तोकिएको छ ।

धनकुटाका प्रायः मतदान केन्द्रहरु विद्यालयमा हुने भएकाले पहिले नै कतिपय मतदान केन्द्रहरु अपाङगता मैत्री रहेका छन् । त्यसमा पनि यी दुई मतदान केन्द्र बढी जोखिमपूर्ण र अपाङगता मैत्री नभएकाले नयाँ निर्माण गरिएको जिल्ला निर्वाचन अधिकारी शाहले बताउँनुभयो । जेठ ३१ गते प्रदेश नं. १, २, ५ र ७ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्