नत्र महाअभियोग



महाअभियोग भन्ने कुरा पनि कति सस्तो भएछ आजकल। हिजो धरहरा छेउमा हिँड्दै गरेका दुई बाल–बालिका आपसमा कुरा गर्दै गरेको देखियो। उनीहरूमध्ये १ जना भन्दै थिए– ‘मलाई त्यो डटपेन दिने भए देउ नत्र महाअभियोग लाउँछु।’ अर्कोले जवाफ दिए– ‘मलाई त्यो तिम्रो ब्यागमा भएको चकलेट देउ। नत्र म पनि महाअभियोग लगाउँछु।’

पहिलोले भने– ‘मलाई जेसुकै लगाउ म त दिनेवाला छैन।’ दोस्रोले भन्दै थिए– ‘पख त्यसो भए महाअभियोग लगाएरै छोड्छु। साँच्चि के गर्नुपर्छ रे होउ महाअभियोग लगाउन ?’ देख्नु भो त पाठकवृन्द यो महाअभियोग भन्ने शब्द कति सस्तो भएछ। जो पनि बाटामा महाअभियोग लगाउँछु पो भन्न थाले बा।

बाफरे रेल !
धरहराले केही दिनयता ठूला राजनीतिक पार्टीका चुनावी घोषणापत्र हेर्न थालेको छ। नेपालमा अहिले जनकपुर–जयनगर भन्ने पुरानो रेलमार्ग मात्रै भएको यसलाई याद छ। तर, विभिन्न दलका पछिल्ला घोषणापत्रको कभरमा त जताततै रेलैरेल पो छन् त बा। त्यही रेल कुदेको छ, त्यही जहाज उडेको छ। त्यही केबुलकार छ, त्यही अन्डरग्राउन्ड बाटो छ। हैट, विकास भनेको त यस्तो पो हुनुपर्छ। यति राम्रो कभरसहितको घोषणापत्र भएपछि के चाहियो ? हाम्रा पाठकवृन्दले पनि राम्रैराम्रा देखेर एउटै पदमा धेरै जनालाई मत हाल्नुहुने पो हो कि ? यस्तो भयो भने त फेरि मत नै रद्द होला नि । त्यसोचाहिँ नगरौं है फेरि।

प्रतिक्रिया दिनुहोस्