घट्यो निर्वाचनको उत्साह



विनोद सिंह विष्ट ⁄बैतडी
प्रदेश नं ७ मा यही वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन जेठ ३१ गते सरेपछी यहाँका मतदातामा निर्वाचन प्रति आकर्षण घटेको छ भने पार्टीका कार्यकर्ता आक्रोशित भएका छन।

दुई दशकपछी हुन लागेको निर्वाचनमा मतदान गर्न पाउने भन्दै उत्साहित भएका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसँगै निराश बनेका हुन। प्रदेश नम्बर १, २, ५ र ७ नम्वर प्रदेशमा जेठ ३१ गते तथा ३,४ र ६ नम्बर प्रदेशमा सरकारले वैशाख ३१ गते स्थानिय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

रोजगारका लागि अन्यत्र गएकाहरू निर्वाचनमा भोट हाल्न जिल्ला फर्किएका थिए। तर चुनाव एक महिनापछि सरेपछि निर्वाचन हुने नहुने दुवै थरी आशंका बढेको छ। पछिल्लो समयमा मतदाताको उत्साह घटेको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका सुर्य बोहराले बताए। कामको सिलसिलामा भारतबाट काम छोडेर घर आएका मतदाता भन झन अन्यौलमा परेका छन्। लामो समयको पर्खाइपछि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर गुम्ने हो की भन्ने चिन्ताले लागेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका बलराज भट्टले बताए। निर्वाचनका लागि भनेर नै भारतदेखि घर आइयो उनले भने–‘मिति नै सरेपछि अब के गर्ने, चुनाव नै नहुने हो कि भन्ने चिन्ता लागेको छ।’

यहाँका मतदाता मात्रै नभइ यहाँका राजनीतिक दलका नेता पनि अन्योलमा रहेका छन्। निर्वाचनको गतिविधि तीव्र भइरहेका समयमा निर्वाचनको मिति सरेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा दलहरूको निर्वाचन गतिविधि न्यून देखिन थालिएको छ। चुनावको मिति सरेपछि प्रचार–प्रसारमा पनि सुस्तता आएको नेपाली कांगे्रसका जिल्ला सचिव तथा सुर्नया गाउँपालिकाका अध्यक्षका उम्मेदवार बीर बहादुर विष्टले बताए।

चुनावी प्रचारप्रसारमा जुटीरहेको भएपनि मतदातामा चुनाव हुन्छ कि हुदैन भन्नेमा अन्यौलता छाएको छ उनले भने–‘सरकारले निर्वाचनको मिती सारेपछी मतदाताले निरास बनेका छन।’ आफ्नो पार्टीले चुनावी गतिविधिलाई कम नगरेपनि सरकारले चुनाव नै नगर्ने हो कि भन्ने आशंक जन्माएको एमाले बैतडीका सचिव लिलाधर भट्टले बताए। नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट(आदित्य) सरकारले चुनावको मिती सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानिय तहमा उम्मेद्वार घोणणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताउँछन्। ४ नगरपालिका र ६ गाँउपालिका रहेको बैतडीमा १ लाख २४ हजार ८२४ जनाले मतदाता छन।

प्रतिक्रिया दिनुहोस्