प्रचार सामग्री बनाउन पेन्टर व्यस्त



रोशन पराजुली⁄हेटौंडा

२ दशकपछि स्थानीय तहको निर्वाचन हुने भएसँगै जिल्लामा चुनावी माहोल बढेको छ। विभिन्न पार्टीका कार्यकर्ता र नेताहरू चुनाव प्रचारप्रसारमा जुटिरहेका छन्। सर्वसाधारण पनि आफ्नो पार्टीको प्रचारका लागि घरको धुरीमा झण्डा गाडेर र सवारी साधनमा पार्टीको चुनाव चिह्नसहित झण्डा हालेर हिँड्न थालेका छन्।

हेटौंडाका मेनरोडमा अशोकका बोटदेखि बिजुलीको पोल अनि पसलका बोर्डमा समेत प्रचारप्रसारका लागि विभिन्न पार्टीका झण्डा टाँगिएको छ। बजारमा हुइँकिने ईरिक्सा, अटोजस्ता र मोटरसाइकलमा विभिन्न पार्टीका झण्डा हालेर चुनाव प्रचारप्रसारमा स्थानीय केन्द्रित भइरहेका छन्।

यहाँ देखिएको यस्तो माहोलको प्रत्यक्ष प्रभाव स्थानीय पेन्टरहरूमा देखिएको छ। वैशाखको यो गर्मीको टण्टलापुर घाममा आइतबार एक युवा भटाभट नेकपा माओवादी केन्द्रको झण्डा गन्दै र मिलाउँदै थिए। छेउमा बसिरहेका एक व्यक्ति निकै हतारमा देखिन्थे। उनी भन्दै थिए–‘मेरो पालो कति बेला आउँछ, हतार भइसक्यो, धेरै टाढा पुग्नु छ।’ सधैंजसो सामान्य काम हुने हेटौंडा–२, संगमचोकमा रहेको ग्लेक्सी आर्ट लिंकमा झण्डा थुप्रिरहँदा पैदल यात्री पनि दंग पर्ने गर्छन्।

हेटौंडा बजार क्षेत्रमा पेन्टिङ व्यवसाय फस्टाउँदो छ। झण्डा बनाउनेदेखि टीसर्टमा चुनाव चिह्न लेख्नेसम्मको ताँती लाग्ने गरेको देखिन्छ। राजनीतिक दलले चुनाव प्रचारप्रसारलाई तीव्रता दिन थालेपछि पेन्टिङ व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुगेको छ। यहाँका अधिकांश आर्ट सेन्टरले झण्डा, ब्यानर, फ्लेक्स प्रिन्ट, भिजिटिङ कार्ड, टीसर्ट प्रिन्ट आदि बनाउने गरेको प्रोप्राइटर राजाराम थापाले बताए।

‘पार्टीको झण्डा बनाएर भ्याइनभ्याइ छ,’ उनी भन्छन्–चुनावको माहोल सुरु भएपछि त दिनरात नभनी काम गर्नुपरेको छ। उनका अनुसार दैनिक ४ सयदेखि ६ सय वटासम्म झण्डा उनले बनाउने गरिएको छ। पर्वत, विश्व, सिग्देल आर्टमा पनि चाप छ। ती आर्टमा पार्टीका झण्डा बनाउने काम बढी हुँदा अन्य सेवा दिन नभ्याइएको पर्वत आर्टका प्रोप्राइटर राम श्रेष्ठले बताए। उनले भने– सबैको काम छिटो गर्नुपर्ने बाध्यता छ।

ग्रामीण क्षेत्रमा आर्ट व्यवसायी नहुँदा राजनीतिक दललाई समस्या भएको नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कमानसिंह पाख्रिनले बताए। उनले विकट क्षेत्रसम्म प्रचारप्रसार सामग्री बनाएर हेटौंडाबाट लैजानुपर्ने भएकाले प्रचारप्रसारमा पनि असर परेको गुनासो गरे। अरु बेला सामान्यमात्र काम हुने गरेका आर्ट सेन्टरले हिजोआज केही पेन्टर नै राखेर काम गर्दैै आएका छन्।

प्रतिक्रिया दिनुहोस्