महाअभियोग फिर्ता लिन एमालेको माग



काठमाडौं, (नेस)
नेकपा (एमाले) स्थायी कमिटीको सोमबार बसेको ६४औं बैठकले प्रधानन्यायाधीशविरुद्ध नेपाली कांग्रेसले ल्याएको महाअभियोग प्रस्ताव दुराशयपूर्ण रहेको जनाउँदै सो प्रस्ताव फिर्ता लिन माग गरेको छ।

बैठकले आज वैशाख १९ गते प्रदेश नं. ३, ४ र ६ का सबै स्थानीय तहमा भव्य र व्यापक तयारीसहित उत्साहका साथ निर्धारित समयमा उम्मेदवारको मनोनयन दर्ता गर्न मातहत कमिटी तथा उम्मेदवारलाई निर्देशित गरेको छ। स्थानीय तहका उम्मेदवारहरूको सन्दर्भमा उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उपप्रमुख चयनका लागि बैठक जारी रहेको प्रेषित वक्तव्यमा जनाइएको छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो।

भेटमा प्रधानमन्त्रीले संविधान संशोधन विधयेक, संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव, स्थानीय तहको निर्वाचन र बजेटका विषयमा सहमतिका साथ अघि बढ्न नेता ओलीलाई आग्रह गर्नुभएको प्रचण्डको सचिवालयले बताएको छ।

भेटमा प्रधानमन्त्री र नेता ओलीबीच राजनीतिक परिस्थितिका विषयमा खुलेर कुराकानी भएको थियो। प्रधानमन्त्रीले वैशाख ३१ गतेको निर्वाचन कुनै हालतमा नरोकिने जानकारी गराउँदै सम्पूर्ण राजनीतिक दलहरू मिलेर निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो। भेटमा ओलीले प्रधानन्यायाधीशको विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो। जवाफमा प्रचण्डले न्यायपालिकाले कार्यपालिकाको काममा हस्तक्षेप गरेकाले महाअभियोग प्रस्ताव दर्ता गरेको जानकारी गराउनुभएको प्रचण्डको सचिवालयले बताएको छ।

भेटमा ओलीले प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन प्रचण्डलाई आग्रह गरेको भए पनि उहाँले केही जवाफ नदिनुभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्