महानगरपालिकामा उम्मेदवार छान्न कांग्रेसलाई सास्ती



नेपाल समाचारपत्र
काठमाडौं
मुलुककै पहिलो महानगरपालिका काठमाडौंमा मेयर र उपमेयरको टुङ्गो लगाउन नेपाली कांग्रेसलाई निकै सास्ती परेको छ। सोमबार दिउँसोसम्ममा उम्मेदवारको टुङ्गो लगाउने गृहकार्यमा जुटे पनि पार्टीले कसैलाई सर्वसम्मत बनाउन सकेन।
निर्वाचन आयोगले आज मंगलबारका लागि उम्मेदवारको मनोनयन दर्ता तोकेको छ। मेयरका आकांक्षी धेरै भएपछि आधिकारिक उम्मेदवारको टुङ्गो लगाउन काठमाडौं जिल्ला कमिटीको बैठक सोमबार राति अबेरसम्म चलेको थियो। बैठकमा काठमाडौंबाट प्रतिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्य र पार्टीका सांसदसहित जिल्लाका अगुवा कार्यकर्ता सहभागी थिए। सो पार्टीबाट मेयरका लागि पूर्वमन्त्री तीर्थराम डंगोल, महासमिति सदस्य राजुराज जोशी, काठमाडौं जिल्ला सदस्य सुसन वैद्यलगायतले दाबेदारी प्रस्तुत गरेका छन्।

डंगोल र जोशीले पार्टीमा लामो समयदेखिको आबद्धता र पटक जिम्मेवारीसहित दाबेदारी प्रस्तुत गरेका छन् भने वैद्यले पार्टीमा युवापुस्ताले नयाँ जिम्मेवारी पाउनुपर्ने अडान लिएका छन्। ‘नयाँ पुस्तालाई राजनीतिमा अवसर दिन र पार्टीलाई नयाँ जोशका साथ अघि बढाउन मैले दाबेदारी प्रस्तुत गरेको छु, वैद्य भन्छन्– ‘महानगरको विकास निर्माणमा समेत नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने मेरो मान्यता हो।’ उनी पार्टीको १२औं महाधिवेशनपछि काठमाडौं जिल्ला सदस्य छन्। उपमेयरमा सो पार्टीबाट जीवन डंगोल, नर्वदा पोखरेल, प्रतिमा गौतमलगायतले दाबेदारी प्रस्तुत गरेका छन्। सो पार्टीका एक केन्द्रीय सदस्यले भने– ‘मंगलबार दिउँसोअघि काठमाडौंका उम्मेदवारको टुङ्गो लाग्ने सम्भावना छैन।’

त्यस्तै नेकपा एमालेले काठमाडौं महानगरका लागि पार्टीका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठसहित विद्यासुन्दर शाक्य र सावित्रा भुसालको नाम स्थायी समितिलाई सिफारिस गरेको छ। उपमेयरमा इन्दिरा पन्त, रत्न गुरुङ र शान्ति अधिकारी बस्नेतको नाम सिफारिस भएको छ। माओवादी केन्द्रसहित केही साना दलले भने यसअघि नै मेयर र उपमेयरका आधिकारिक उम्मेदवारको टुङ्गो लगाइसकेका छन्। माओवादीले पार्टीका पोलिटब्युरो सदस्य सर्वोत्तम डंगोललाई काठमाडौं महानगरको मेयरको उम्मेदवार बनाएको छ। पुराना कम्युनिष्ट नेता डंगोल सो पार्टीका काठमाडौं इन्चार्जसमेत हुन्। माओवादी केन्द्रले पार्टीकी नेत्तृ सुशीला पौडेललाई उपमेयरको उम्मेदवार बनाएको छ।

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टीले डा. एनके थापा, साझा पार्टीले पूर्वसचिव किशोर थापा, विवेकशील नेपाली दलले रञ्जु दर्शनालाई उम्मेवार बनाएर चुनावी प्रचारमा जुटेका छन्। जनमोर्चाका मेयर उम्मेदवार थापाले भने– ‘राष्ट्रियताको जर्गेनासहित महानगरको विकास र समयसापेक्ष परिवर्तनका लागि परिपक्व उम्मेदवारको खाँचो छ, त्यसका लागि पार्टीले मलाई जिम्मेवारी दिएको हो।’

प्रतिक्रिया दिनुहोस्