४८८७ प्रहरी खटाइए



काठमाडौं, (नेस)
स्थानीय निकायको पहिलो चरणमा वैशाख ३१ गते हुन गइरहेको निर्वाचनमा शान्ति सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा गरी हालसम्म ४ हजार ८ सय ८७ जना प्रहरी कर्मचारीलाई थप मद्दतका लागि २ सय २० वटा सवारीसाधनसहित परिचालन गरेको छ।

प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्यालयहरू विराटनगर तथा दीपायल, प्रहरी युक्ति महाविद्यालय जर्गाह र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट गरी प्रदेश नम्बर ३, ४ र ६ मा पर्ने जिल्लाहरूमा उक्त संख्यामा प्रहरी कर्मचारीहरू थप मद्दतका लागि खटाइएको हो।

खटाइएकामध्ये गोरखामा ५ सय ५५, बाग्लुङमा १०, नुवाकोटमा ६ सय १४, पर्वतमा २५, काभ्रेमा ६ सय ५१ सिन्धुपाल्चोकमा ४ सय ५१, स्याङ्जामा ७०, म्याग्दीमा १२, धादिङमा ३ सय १३, लमजुङमा ८१, कास्कीमा ४०, चितवनमा ८१, तनहँुमा ८९, मकवानपुरमा ८०, रसुवामा १४, सुर्खेतमा ३ सय ९३, नवलपरासीमा ५, सिन्धुलीमा १ सय ३०, दोलखामा १ सय ८६, रामेछापमा १ सय २४, दैलेखमा १ सय ४२, कालिकोटमा १ सय १२, जुम्लामा २६, जाजरकोटमा ७२, सुर्खेतमा १ सय २९, सल्यानमा ४ सय २५ र रुकुममा ५७ जना प्रहरी कर्मचारी परिचालन गरिएको हो।

निर्वाचनको घोषणा भए पश्चात् प्रहरी प्रधान कार्यालयले केन्द्रमा केन्द्रीय निर्वाचन समन्वय कक्ष २०७४ स्थापना गरी प्रहरी परिचालन गर्दै आएको छ। उक्त प्रदेशहरूमा कुल २२ हजार ६ सय १५ जना प्रहरी कर्मचारी तथा २२ हजार ६ सय ९९ म्यादी प्रहरी खटाउने नीतिअनुरूप आवश्यकताअनुसार थप मद्दत खटाउँदै आएको उक्त कक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्