मजदूरको पसिनाको उचित मूल्यको मागसहित मदरसा संघद्वारा कतारी राजदूतलाई ज्ञापन पत्र



सीताराम चौधरी,कपिलवस्तु ।
नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अलहीललाई राष्ट्रिय मदरसा संघ नेपालले ज्ञापन पत्र बुझाएको छ ।

कतारमा कार्यरत लाखौं नेपाली कामदारहरुको सेवा सुविधामा सहुलियत दिनुपर्ने अपिल गर्दै विश्व मजदूर दिवसको अवसरमा मदरसा संघले ज्ञापन पत्र बुझाएको हो । संघका केन्द्रिय अध्यक्ष डा. अब्दुलगनी अलकूफी र महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ राजदूताबास काठमाडौं पुगी आइतबार अलहीललाई ज्ञापन पत्र बुझाएका हुन् ।

ईस्लामको ऐनमा मजदूरको मजदूरी उसको निधारको पसिना सुक्नुभन्दा पहिले दिनुपर्ने व्यवस्थालाई अबिलम्ब पालना गर्न मदरसा संघले ज्ञापन पत्रमार्फत कतारका राजदूत अलहीलसँग माग गरिएको छ ।

कतार राज्यको श्रम ऐन २०१६ र कतार राज्यको आप्रवासी कामदारको निर्देशिका बमोजिम कतारमा कार्यरत हरेक नेपालीलाई शान्तिसुरक्षाको प्रत्याभूति र श्रमको उचित मूल्य निर्धारण गर्न माग गरिएको छ ।

यता नेपालका लागि कतारी राजदूत अलहीलले ज्ञापन पत्र ग्रहण गर्दै नेपाली कामदारको इमान्दारिता र कामप्रति आफू सन्तुष्ट रहेको बताए ।

राजदूत अलहीलले मदरसा संघको अपिललाई अबिलम्ब कार्यान्वयनका लागि आफूले कतारी सरकारसँग भरपूर कोशिश गर्ने प्रतिबद्धता जाहेर गरे । आप्रवासी कामदारकै हकअधिकारका लागि श्रम ऐन र निर्देशिका तयार पारिएको इंकित गर्दै राजदूत अलहीलले नेपाली कामदारलाई पसिनाको उचित मूल्य दिने आश्वासन दिए ।

साथै नेपाली कामदारलाई कतार राज्यको श्रम ऐन र निर्देशिकामा व्यवस्था भएअनुसार हरेक सेवासुविधा उपलब्ध गराउने राजदूत अलहीलले आश्वासन दिएको मदरसा संघ नेपालका केन्द्रिय महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्