महाभियोग, राजीनामा र मानसिकता



पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने दिन भोलि मंगलबार हो। तर, ठूला दलहरुले हिजो आइतबारसम्म पनि उम्मेदवार तय गर्न नसकेको अवस्था छ। धरहरा छेउमा आएर एउटा पार्टीको तर्फबाट मेयरका उम्मेदवारले भन्दै थिए– ‘मनोनयन दर्ता गर्ने बेलामा लगाएर जाउँला भनेर नयाँ सुट किनेर ठीक्क पारेको खोई लगाउन पाइने हो कि होइन थाहा नै छैन।’

अर्की एक जना उपमेयरको दावेदार पनि भन्दैथिइन्– ‘के होला भनेर घरमा पनि सबैले चिन्ता गर्छन्। रातमा निन्द्रा नपरेको हप्तौं भइसक्यो। पार्टीले केही भन्दैन। के गर्ने के नगर्ने भइयो। यी नेताहरुले कार्यकर्तालाई मानसिक रोगी नै बनाउने भए।’

वडा अध्यक्षदेखि सदस्यसम्मको हालत पनि उस्तै रहेछ। सबै बिरामीजस्तो अनुहार लगाएर हिंडेका छन्। चुनावको बेलामा कार्यकर्ता बिरामी भए भने दलका नेताहरु कसरी चुनावमा जालान् ? फेरि मनोनयनपछि प्रचारप्रसार गर्दै हिंड्नलाई पनि धेरै समय छैन। पहिला नै गएर प्रचार गरौं भनेपनि पछि टिकट पाइएन भने जग हाँस्ने डर। हत्तेरिका दलहरुले देश त बनाएनन् बनाएनन् आफ्नै कार्यकर्तालाई पनि मानसिक रोगी बनाउने भएछन्। सुधार्ने ठाउँ पनि कति धेरै होलान् त हाम्रो नेपालमा। होइन त पाठकबृन्द ? अब मुलुकमा प्रधानन्यायाधीश विरुद्ध महाभियोग, गृहमन्त्रीको राजीनामा लगायतका घटनाले टिकट ताक्नेको झन् के हालत भयो होला त ?

प्रतिक्रिया दिनुहोस्