पुनर्निर्माणमा अलमल नगर



भूकम्पका कारण ध्वस्त भएका निजीतथा सरकारी संरचना निर्माणले गति लिन नसकेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अझै ३ खर्ब रुपियाँ अपुग भएको भन्दै सरकारसँग गुहार माग्न थालेको छ । दाता र राज्यले दिएको रकमको ५० प्रतिशतसमेत खर्च गर्न नसकेको प्राधिकरणले अहिले आएर रकम अभाव भएको भन्दै ३ खर्ब मागेपछि प्राधिकरणको चौतर्फीरूपमा आलोचना हुन थालेको छ ।
चालू आर्थिक वर्ष सकिन २ महिना बाँकी हुँदा अर्थ मन्त्रालयबाट निकासा भएको १ खर्ब ९ अर्ब रुपियाँमध्ये आधा पनि खर्च गर्न नसकेको प्राधिकरणले पुनःपैसा मागेर आफैंलाई व्यङ्ग्य गरेको भन्दा फरक नपर्ला । विभिन्न बहाना बनाएर खर्च गर्न नसकेको प्राधिकरणले अहिले आएर पुनःरकम माग्नुलाई सरोकारवाला निकायले भने राम्रो मानेका छैनन् । अनेक बहाना बनाएर रकम खर्च गर्न नसकेको प्राधिकरणले पहिला आफूसँग भएको पैसाको सदुपयोग गर्न सक्नुपर्छ । राज्यले अर्बौं लगानी गर्दा पनि जनताका घर बन्न नसक्नु यो भन्दा ठूलो विडम्बना अरु के नै हुन सक्छ ?

प्राधिकरणको नेतृत्व परिवर्तन भएपछि पुनर्निमार्णले गति लिने बताइएको थियो । त । विडम्बना ∕ त्यसले गति लिने त परै जाओस्,भएको रकमसमेत खर्च गर्न नसक्नु अर्को विडम्बना हुन पुगेको छ । नेतृत्वमा जो पुगेपनि सोचेजस्तो काम हुन नसकेपछि जनतामा निराशा छाएको छ । पुनर्निर्माणमा झन्डै ९ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको भएपनि अहिलेसम्म राज्यले कति खर्च गर्यो भन्ने प्रश्न उठ्नु पक्कै राम्रो कुरा होइन । यसतर्फ प्राधिकरणले ध्यान दिन सकेन भने प्राधिकरणको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा हुनेछ । दाताहरूले दिने भनिएको रकमसमेत अहिले आउन नसकेको कारण पुनर्निर्माणले गति लिन नसकेको बताइएपनिउपलब्ध भएको रकमको उपयोग हुन नसक्दा समस्या झन् बढ्दै गएको छ । जनता लामो समयदेखि सरकारको भर परेर खुल्ला आकाशमुनि बसिरहेका छन् ।त्यसैले राज्यले यसतर्फ पहल गर्न कुनै कसुर बाँकी राख्नुहुँदैन । यो र त्यो बहानामा पुनर्निनिर्माणका कार्यलाई पछि धकेल्ने काम कसैबाट नहोस् । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्