जिल्ला छोड्दै नेता



राजनीतिक दलका नेताहरूको जिल्ला छोड्ने क्रम बढेसंगै यहाँका ग्रामीण क्षेत्रमा चुनाव प्रचार–प्रसारका गतिविधिहरू सुस्ताएको छ।

विमल विष्ट⁄डोटी

केहीदिन अघिसम्म जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायलमा निकै सक्रिय रहेका डोटीका ठूला राजनैतिक दलका नेता तथा कार्यकर्ताहरू क्रमिक रूपमा जिल्ला छोडेर बाहिरिन थालेका छन्।

सरकारले ७ नम्बर प्रदेशसहित ४ वटा प्रदेशको निर्वाचन जेठ ३१ गते दोस्रो चरणमा गर्ने घोषणा गरेसंगै दलका गतिविधि लगभग शून्य भएका र यहाँका ठूला राजनैतिकदलका नेता तथा कार्यकर्ताहरू पनि एकाएक जिल्ला छोडेर बाहिरिएका हुन्। यसरी जिल्ला छोडेर बाहिरिनेमा सबैभन्दा बढी कांग्रेस नेता कार्यकर्ता बढी भएको स्थानीयबासीहरू बताउँछन्। जिल्लामा रहेका नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायतका केही अन्यदलहरूले स्थानीय निकायमा आफ्नो पार्टिका अमेदवारको करिबकरिब टुंगो लगाइसकेका थिए भने कांग्रेसले कहीं पनि टुंगो लगाउन सकेको थिएन।

आफ्नो उमेदवार टुंगो लगाइसकेका दलका नेता तथा उमेदवारहरू गाउँमा चुनावी प्रचार गरिरहेका छन् भने कांग्रेसमा उमेदवारको आधिकारिक टुंगो नलागेकाले नेताहरू जिल्ला बाहिर गएका हुनसक्ने दिपायल राजपुरका ४ का स्थानीय भीमबहादुर कलेलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘निर्वाचन पनि सर्ने भएको र पार्टीले टिकटको टुंगो नलगाएकाले नेताहरू जिल्लाबाहिर गएका हुन सक्छन् तर निर्वाचन हुने समय जिल्ला फर्किने अरुबेला बाहिरै बस्ने परिपाटीचाहिँ ठीक हैन।’

केही दिन पहिले पार्टीको आधिकारिक टिकटका लागि यहाँका दलका नेताहरू निरन्तर छलफलमा थिए तर निर्वाचन दोस्रो चरणमा हुने भएपछि अधिकांस नेताहरू जिल्ला छोड्न थालेका छन्। नेपाली कांग्रेसले डोटीमात्र नभई ७ नम्बर प्रदेशका अधिकांस जिल्लामा टिकट वितरणका सम्पूर्ण कार्यक्रमहरू तत्कालका स्थगित गरेको जनाएको छ। राजनीतिकदलका नेताहरूको जिल्ला छोड्ने क्रम शुरु भएपछि यहाँका ग्रामीण क्षेत्रमा चुनाव प्रचार–प्रसारका गतिविधिहरूमा केही सुस्ताएको स्थानीयबासीको बुझाइ रहेको छ।

निर्वाचनका लागि बेसक्याम्प

स्थानीय तहको निर्वाचनमा सुरक्षा प्रयोजनका लागि भन्दै डोटी सदरमुकाम सिलगढीमा सशस्त्र प्रहरीको बेसक्याम्प खडा गरिएको छ।

सदरमुकाम सिलगढीमा पहिलोपटक सशस्त्र प्रहरीको बेसक्याम्प खडा गरिएको हो। जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार बडिमालिका गण बनबेहडा अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी नायब उपरिक्षक दीपक कुँवरको कमान्डमा आएको ३५ जना सशस्त्र प्रहरीको टोलीसहित बेसक्याम्प खडा गरिएको हो।

त्यसै गरी ७ नम्बर प्रदेशसहित देशका अन्य केही स्थानमा स्थानीय तहको निर्वाचन वैशाख ३१ बाट जेठ ३१ गते सारिएपछि दिपायलबाट ठूलो संख्यामा प्रहरी टोली मध्यपश्चिमका पहाडी जिल्लाहरूमा खटाइएको छ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार दिपायलस्थित सुदूरपश्चि क्षेत्रीय प्रहरी कार्यालय दिपायल, प्रहरी तालिम केन्द्र, न.१ गुल्म दिपायल तथा क्षेत्रीय प्रहरी अस्पताल दिपायलबाट एक हजार ६ सय जनाको प्रहरी टोली मध्यपश्चिमका कालिकोट, जाजरकोट, प्युठान, रुकुम, रोल्पा, सल्यान, दैलेखलगायतका जिल्लाहरूमा खटाइएको छ। मध्यपश्चिमका पहाडी जिल्लाहरूमा खटाइएको प्रहरी टोली दिपायलबाट त्यसतर्फ प्रस्थान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्