चुनाव प्रचारप्रसारमा बालबालिका प्रयोग



निर्वाचन आचारसंहिता विपरित काग्रेस, एमाले माओबादीले चुनाव प्रचारप्रसारको लागि बालबालिका प्रयोग गरिरहेका छन्।

रोशन पराजुली⁄हेटौंडा

निर्वाचन आचारसंहिताले चुनाव प्रचारप्रसारको काममा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख गरे पनि मकवानपुरका प्रमुख राजनीतिक दलहरूबाटै यसको उल्लंघन भएको पाइएको छ।

स्थानीय तह निर्वाचन प्रचारप्रसारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले नै बालबालिका प्रयोग गरेको पाइएको हो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचमा बालबालिका प्रयोग नगर्न र आचारसंहिता पालना गर्न पटकपटक राजनीतिक दलहरूलाई चेतावनी दिए पनि त्यसको बेवास्ता गर्दै दलहरूले बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरिरहेका हुन्।


बालबालिकालाई प्रचारप्रसारमा हिँडाउनुका साथै ‘फलानो पार्टीलाई भोट हाली जिताऔं’,‘फलानो पार्टी जिन्दावाद’ को नारामा समेत प्रयोग गरेको पाइएको हो। बालबालिकाका लागि पार्टीका नारा लेखिएका टिसर्टसमेत बितरण गरिएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ मा १३ वर्षभन्दा कम उमेरका बालबालिका शुक्रबार कांग्रेस, एमाले र माओवादी केन्द्रको चुनाव प्रचारमा सहभागी भएको पाइएको हो। राजनीतिक दलका विभिन्न भ्रातृ संगठनका प्रतिनिधि स्वयम्ले बालबालिकालाई टिसर्ट दिनुका साथै प्रचारमा सहभागी गराएको हर्नामाडीका नीरबहादुर सिलवालले बताए।

१८ नम्बर वडाबाट स्थानीय चुनावका लागि कांग्रेसबाट दिलबहादुर सुवेदी, एमालेबाट अनिल बानियाँ र माओवादी केन्द्रबाट भोला थापा अध्यक्ष उमेदवार छन्। निर्वाचनका समयमा बालबालिका प्रयोग नगर्ने भन्दै दलहरूले प्रतिबद्धता जनाए पनि आचारसंहिताको बेवास्ता गरी प्रतिबद्धतालाई भुल्दै उनीहरूले आफ्ना चुनाव प्रचारमा बालबालिका प्रयोग गरेका हुन्।

निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहितामा निर्वाचन प्रचारप्रसार, आमसभा र जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ। आचारसंहिता उल्लघंन गरे उमेदवारी रद्द हुने तथा एक लाख रुपियाँसम्म जरिवाना हुनेसमेत निर्वाचन आचारसंहितामा उल्लेख छ।

चुनावमा बालबालिका प्रयोग भएको देखेका स्थानीय बुद्धिजीवीले बालअधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थासमेत पार्टीका लागि भोट माग्ने कार्यमा तल्लीन रहेको आरोप लगाउँदै त्यस्ता निकायले यसतर्फ चनाखो भएर अनुगमन नगरेको र प्रभावकारी कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्