टेकुमा भीषण आगलागी



नेपाल समाचारपत्र
काठमाडौं
आइतबार साँझ नेपाल उद्योग वाणिज्य महासंघसँगै रहेको एउटा घरमा अचानक आगलागी हुँदा करोडौं रुपियाँ बराबरको क्षति भएको छ ।


गोविन्द घिमिरेको ५ तले घरमा एक्कासी आगलागी भएपछि सो क्षेत्र राति अबेरसम्म तनावग्रस्त अवस्थामा रहेको थियो । आगलागी नियन्त्रण गर्न उपत्यकाको सबै दमकल प्रयोग भए पनि आगलागी भएको स्थान साँघुरो ठाउँमा रहेका कारण अग्नि नियन्त्रकलाई निकै कठिन भएको थियो ।

आगलागीबाट प्रिन्टर्स वल्र्डलगायत सो घरमा रहेका सबै कार्यालयसमेत ध्वस्त भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

विभिन्न व्यवसाय चलेको उक्त पाँचतले घरमा आगलागी हुँदा त्यसमा सञ्चालनमा रहेको गार्मेन्ट र मोटरसाइकल वर्कसप पनि जलेर नष्ट भएको छ ।
आगलागीलाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दा घटनास्थलमा राति अबेरसम्म परिचालन भएका छन् ।

टेकुको भित्री गल्लीमा रहेको उक्त घरमा आगलागी हुँदा दर्जनौंको संख्यामा रहेका दमकल र पानी ट्याङ्कर बाटैमा अड्किएका थिए । बाटो साँघुरो भएकाले दमकलले आगो नियन्त्रणमा लिन नसकेको स्थानीयले नेपाल समाचारपत्रलाई बताए ।

प्रतिक्रिया दिनुहोस्