राप्ती उपक्षेत्रीय अस्पतालमा विस्तारित सेवा शुरु



नरेन्द्र केसी, दाङ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आइतवारदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गरेको छ । यो सेवाअन्तर्गत दिउँसो ३ बजेदेखि ५ बजेसम्म अस्पतालमा सशुल्क विशेषज्ञ सेवा दिइने छ ।
अस्पतालले पत्रकार सम्मेलन गरी आइतवारदेखि सेवा शुरु गरिएको जानकारी दिएको हो । जसका लागि हाललाई प्रतिविरामी तीन सय रुपैयाँ सेवा शुल्क तोकिएको छ । दिउँसो ३ देखि ५ बजेसम्म विरामीको जाँच गरिने र २ बजेदेखि ४ बजेसम्म टिकट काट्ने ब्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जनार्दन पन्थीले जानकारी दिनुभयो ।
विरामीको जाँच शुल्क तीन सय राखिएको भए पनि रोग पत्ता लगाउन गरिने परीक्षण शुल्क भने यथावत राखिएको छ । यसरी अस्पतालबाट यो सेवा लिंदा बाहिर जाँचेको भन्दा शुल्कमा केही सस्तो, परीक्षण शुल्क सस्तो र अस्पतालकै फार्मेसीबाट औषधि पनि सस्तोमा विरामीले पाउने डा. पन्थीले जानकारी दिनुभयो ।

जनशक्ति र भौतिक पूर्वाधारको अभावमा अहिले हरेक दिन थोरै मात्र रोगको बिशेष सेवा दिने ब्यवस्था गरिएको अस्पतालले जनाएको छ । जसअनुसार आइतवार दन्तरोग र आयुर्वेद, सोमवार जनरल सर्जरी र हाडजोर्नी, मंगलवार स्त्रीरोग र भिडियो एक्सरे, बुधवार जनरल मेडिसिन र बालरोग, बिहीवार नाक, कान र घाँटी तथा शुक्रवार छालारोग र यूरोलोजीकाको बिशेष सेवा दिइने अस्पतालले जनाएको छ ।
जनशक्ति र भौतिक पूर्वाधार बढेसँगै हरेक दिन सबै बिशेष सेवा विस्तार गरिने अस्पतालले जनाएको छ । सरकारले अस्पतालमा विरामीको जाँच गर्ने समय साँझ ५ बजेसम्म तोकेपछि चिकित्सकहरुले बिरोध जनाएका थिए । चिकित्सकहरुलाई पनि सन्तुष्ट बनाउन ठूला अस्पतालहरुमा विस्तारित सेवामार्फत सशुल्क विशेषज्ञ सेवा दिने नीति ल्याएको थियो । यो नीतिप्रति चिकित्सकहरु सहमत रहेको डा. पन्थीले जानकारी दिनुभयो ।

‘यो सेवा पूर्णरुपमा लागु भयो भने सरकारी चिकित्सकले बाहिर निजी क्लिनिकमा काम गर्नुपर्ने छैन’– उहाँले भन्नुभयो । यो भोलिको परिकल्पना भएको उल्लेख गर्दै उहाँले अहिले पनि अस्पतालको विस्तारित स्वास्थ्य सेवामा ड्यूटी परेको दिन कुनै पनि चिकित्सक निजी क्लिनिक नजाने बताउनुभयो ।
विस्तारित सेवामा दैनिक तीस जनासम्म विरामी जाँच्न सकिने छ । त्यसअघि १० देखि ३ बजेसम्मको नियमित ओपिडी सेवा यथावत छ ।

यो सेवाका लागि विहान साढे ९ देखि साढे १२ बजेसम्म नाम लेखाउनुपर्ने पुरानै प्रावधान छ । ओपडीमा नाम लेखाउन भीडभाड नहोस् भनेर केही समयदेखि अस्पतालले टोकन प्रणाली लागु गरेको डा. पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्