लागुऔषध ओसार्न भारतीय गाडी



नेपाल समाचारपत्र, हेटौंडा । लागुऔषध ओसारपसार गर्नका लागि पछिल्लो समय भारतीय नम्बर प्लेटका गाडीहरु व्यापकरुपमा प्रयोग भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको चैत पहिलो हप्तासम्ममा १९ वटा भारतीय सवारी प्रहरीले अवैध लागुऔषधसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीले विभिन्न मितिमा भारतीय नम्बर प्लेटको दशवटा मोटरसाइकल, एउटा स्कुटर, चारवटा ट्रक, दुईवटा कार र दुईवटा जीप नियन्त्रणमा लिएको छ ।

भारतीय नम्बर प्लेटका सवारीले यस अवधिमा विभिन्न शैलीमा लागुऔषधहरु मकवानपुरहुँदै भारतर्फ लैजान खोज्दा प्रहरीले पक्राउ गरेको हो । विशेष गरी भारतीय गाडीहरुले सिट, हुट र पछाडिको भागमा फल्स बनाएर गाँजा तथा चरेस भारत लैजाने कोशिस गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकर थापाले जानकारी दिए ।

‘भारतीय गाडीहरुबाट लागुऔषध ओसारपसार भएको भन्ने अपुष्ट समाचार प्राप्त हुन थालेसँगै हामीले अनुसन्धानलाई तीव्रता दिएका थियौं । फलस्वरुप भारतीय गाडीहरु लागुऔषधसहित बरामद गर्न सफल भयौं । पछिल्लो समय लागुऔषध ओसार्न भारतीय गाडीको प्रयोग भइरहेको छ’, उनले भने ।

विशेष गरी मकवानपुरको पश्चिमी क्षेत्र मनहरी, सुनाचुरी, सरिखेतलगायत क्षेत्रबाट गाँजा तथा चरेस सवारीमा लोड गरिने प्रहरीको तथ्यबाट खुलेको छ । उत्तरी मकवानपुरको नामटार, टिष्टुङ, आग्रा पनि गाँजा तथा चरेस उत्पादन हुने स्थान रहेको प्रहरीको भनाइ छ । त्यस क्षेत्रको लागुऔषध भारतभन्दा पनि राजधानीतर्फ जाने बताइएको छ ।

प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७३÷०७४ को चैत पहिलो हप्तासम्म भारतीय सवारीसँगै करिब एकसय ५० जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ सय ४५ पुरुष र ५ महिला छन् । प्रहरीले यस अवधिमा एकसय पाँचवटा मुद्धा दर्ता गरेको छ ।

भारतीय सवारीबाट करिब एकसय ९४ केजी पाँच सय ग्राम चरेस, चारसय ३५ केजी गाँजा, एकहजार सातसय ५९ एम्पुल डाइजेपाम, एकहजार नौसय ७० एम्पुल फेनारगन, एकहजार तीनसय ८९ एम्पुल व्युप्रोनोफ्रिन, तीनसय ९४ ट्याब्लेट नाइट्रोजेपाम, एकसय ८४ ग्राम खैरो हेरोइन, १५ ग्राम अफिम, नौसय ४० ट्याब्लेट नाइट्रोभेट र ६५ बोतल कोरेक्स बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्