चङ्गा चेट्’ राजदूत



भगवती तिमल्सिना
वाशिङ्टन डिसी
कुनै समस्या परेर अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीलाई कुनै नेपालीले सम्पर्कको प्रयास गर्यो भने उहाँसँग भेट होला भनेर कसैले नचिताए हुन्छ। न दूतावासको फोन उठ्छ, न त उहाँले कसैलाई मतलब नै गर्नुहुन्छ।

अमेरिकामा रहेका आम नेपालीको सधैं यही गुनासो गर्ने गरेको पाइएको छ। राजदूत मुलुक र मुलुकबासीको हित प्रवद्र्धन गर्नका लागि हो । तर डा. कार्कीले कसको हित प्रवद्र्धन गरिरहनुभएको छ भन्ने कुरा कसैलाई पनि थाहा छैन। परराष्ट्र मन्त्रालयका एक अधिकारीसँग उहाँको गतिविधिका बारेमा जिज्ञाशा राख्दा उनको जवाफ थियो– ‘राजदूत लट्टाइबाट छुटेको च·ा जस्तो हुनुभएको छ। के गर्नुहुन्छ कसैलाई जानकारी छैन। राजनीतिक नेताहरूसँगको सम्पर्कका कारण उहाँले मन्त्रालयलाई गन्दै गन्नुहुन्न।’

राजदूतसँग पटक–पटक सम्पर्कको प्रयास गर्दा पनि सम्भव नभएका एक नेपालीले भने– ‘नेपाल सरकारले नेपाली जनताको पिर मर्का र समस्यालाई नजिकैबाट नियाल्नुका साथै कुनै पनि नेपालीले अभिभावक विहीन महसुस गर्नु नपरोस् भन्ने उद्देश्यले राजदूत पठाएको होला। तर, हामीले त्यो कहिले पनि महसुस गर्न पाएनौं।’

आखिर के हो त यो भनेर नेपाल समाचारपत्रको यो प्रतिनिधिले सम्पर्कको पटकपटक प्रयास गर्दासमेत उहाँ सम्पर्कमा आउन चाहनुभएन। उहाँलाई मोबाइलमा फोन सम्पर्क गर्दा नचिनेको नम्बरबाट आएको फोन उहाँले कहिल्यै नउठाउने गरेको कुरा अमेरिकामा रहेका नेपालीहरूबीच चर्चाको विषय रहेछ।

कुन नेपालीलाई कहाँ के समस्या पर्छ त्यसबारेमा जानकारी गराउन वा मदत लिन पनि पहिल्यै चिनिएको हुनुपर्ने कुरा सम्भवको विषय नै होइन। नेपाल समाचारपत्र प्रतिनिधिले नेपाली र अंग्रेजी दुवै भाषामा मोबाइल मेसेज लेखेर पठाउँदा समेत उहाँले कुनै प्रतिक्रिया दिनुभएन। उहाँसँग सम्पर्क नै हुन सकेन भनेर स्थानीय नेपालीसँग कुरा गर्दा उहाँहरूको भनाइ थियो– ‘तपाईंलाई चिन्नु भएन होला। हामीलाई समस्या परेर सम्पर्क गर्दा त उहाँ मतलब नै गर्नुहुन्न। तपाईंलाई के मतलब गर्थे?’ यो संवाददाताले दूतावास पुगेर सम्पर्कको प्रयास गर्दा समेत कर्मचारीहरूले ‘व्यस्त छ भन्दिनु भन्ने जवाफ दिएको खबर दिए।

स्थानीय नेपालीका अनुसार उहाँले आफ्नो काम र कर्तव्य भनेकै गैरसरकारी संस्थासँग आबद्ध व्यक्तिहरूका साथमा बैठक गर्नुलाई मान्नुभएको छ। उहाँ पहिला आफूले सञ्चालन गरेको गैरसरकारी संस्थाकै काममा सधैं व्यस्त हुने गर्नुभएको उनीहरूको भनाइ रहेको छ। उनीहरूका अनुसार उहाँभन्दा अगाडि आएका राजदूतहरूले भने नेपाली जनताका गुनासा सुन्न गर्थे। त्यस्तै दशैं, तिहार र नयाँ वर्षजस्ता अवसरमा शुभकामना आदानप्रदान गर्ने तथा बेलाबेलामा सभा सम्मेलन हुँदा त्यहाँ रहेका नेपालीलाई बोलाउने गरेका थिए।

तर, अहिलेका राजदूतले कसका लागि काम गरिरहेको र के गरिरहेको भन्ने बारेमा अधिकांश नेपाली अनभिज्ञ पाइन्छन्। दूतावासका एक कर्मचारीले भने— ‘बिहानदेखि रातिसम्म उहाँको समय बैठकमै बित्छ। के बैठकमा बस्नुहुन्छ कसैलाई थाहा हुँदैन।’

अमेरिकामै रहेका गैरआवासीय नेपाली पनि राजदूतसँग भेट्न र कुराकानी गर्न निकै कठीन भएको बताउँछन्। गएको मार्च महिनामा गैह्र आवासीय नेपालीको भेला तथा अधिवेसन चलिरहेको थियो। त्यसमा भाग लिन विभिन्न ठाउँबाट भेला भएका नेपालीहरूले गुनासो गरिरहेका थिए—‘राजदूतलाई भेटनका लागि त कुनै गैरसरकारी संस्थाको कार्यक्रम हुनुपर्छ । उहाँलाई सहयोग गर्छौ भन्यो भने तुरुन्तै समय दिनुहुन्छ।’

उहाँले अमेरिकामा रहेका नेपालीलाई मतलब त गर्नुहुन्न नै शुरूमा राजदूत भएर गइसकेपछि रमाइलो कुरा बताउनुभएको एक नेपाली पत्रकारले सुनाए। अमेरिकामा रहेका ती पत्रकारले भने– ‘उहाँले पत्रकार सम्मेलन भनेकाले गएका थियौं। तर, उहाँले यो पत्रकार सम्मेलन कुनै समाचार लेख्न नभै नलेख्नका लागि गरिएको हो है पो भन्नुभयो। ‘पत्रकार सम्मेलन भनेको छ। समाचार नलेख्नका लागि गरिएको रे ,अब कस्तो होला ?’ उनी प्रतिप्रश्न गर्दै थिए।

अमेरिकामा बसेका नेपालीले समयमा सूचना नपाएर या विभिन्न समस्याका कारण आफूहरूले गुहार माग्ने ठाउँ नपाएको गुनासो गरिरहेको पाइएको छ। अहिले राहदानी बनाउन र नवीकरण गर्न पनि समस्या परिरहेको तर दूतावासले कुनै चासो नदिएको समेत उनीहरू गुनासो गर्छन्। दूतावासले कुनै सूचना पनि नदिएको उनीहरूको गुनासो रहेको छ। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बने लगत्तै सडकमा निस्किएको विरोध जुलुसमा आफ्ना स्वकीय सचिवलाई सहभागी गराएपछि त झनै राजदूतको अपरिपक्वता सतहमा आएको थियो। यतिमात्र होइन दूतावासका नाममा नयाँ खरिद गरिएको जमिनका बारेमा अहिले यहाँ रहेका नेपालीले शंकाको दृष्टिले हेरेको पाइएको छ।
लाखौको संख्यामा नेपाली नागरिक अमेरिकामा अध्ययन या कामका सिलसिलामा प्रवेश गरेका छन् र प्रवेश गर्ने क्रम अहिले पनि जारी रहेको छ।

अर्कातर्फ नेपालमा बसेर जति नयाँ अमेरिकी राष्ट्रपति ट्रम्पका बारेमा चर्चा परिचर्चा हुन्छ अमेरिकामा बसोबास गर्ने नेपालीले भने खासै चर्चा गरेको पाइएको छैन । कारण– ट्रम्पले ल्याएको नीतिले कुनै पनि नेपालीलाई व्यक्तिगत रूपमा असर नपर्ने उनीहरूको ठम्याइ नै हो। यहाँ बस्ने नेपाली आफूले गरिरहेको काममा व्यस्त छन् र उनीहरूलाई ट्रम्पका बारेमा चर्चा परिचर्चा गरेर बस्ने फुर्सद् पनि छैन। यद्यपि केहीले थोरबहुत सामाजिक सञ्जालहरूमा टिप्पणी गरेको भने पाइन्छ।

प्रतिक्रिया दिनुहोस्