नेप्सेको कारोबार रकम ओरालोमा



नेपाल समाचारपत्र
काठमाडौं
शेयर बजारको मुख्य हिस्सा ओगट्ने बैंकिङ समूहमा गिरावट आउँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै ओरालो लागेका छन्।

बुधबार नेप्से परिसूचक २ दशमलब ०८ अंकले घटेर १६७० दशमलब ३० अंकमा ओर्लिएको हो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशलमब ५६ अंकको गिरावट संगै ३५७ दशमलब ८० अंकमा झरेको छ। खुल्ने बित्तिकै केही बढेको बजार साढे ११ बजे पछि घट्न थालेको थियो। साढे दुई बजे १६६६ अंकसम्म झरेको बजार त्यसपछि केही सम्हालिएर बन्द भयो।

हिजो १ सय ४५ कम्पनीका १४ लाख ९० हजार कित्ता शेयर ९५ करोड ५१ लाख रूपैयाँमा खरीद बिक्री भएका छन्। औसतमा अरब रूपैयाँ माथि भई रहेको कारोबार रकममा बुधबार कमी आएको हो। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी खरीद बिक्री भएको छ। कम्पनीको ६ करोड ५४ लाख रूपैयाँ बराबरको शेयर किनबेच भएको हो। कारोबार रकमकै आधारमा राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ६ करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ।

बुधबार कारोबारमा आएका आठ समुहमध्ये पाँच सूचक बढे पनि बजारको गिरावटलाई रोक्न सकेनन्। बैंकिङ ७ दशमलब ९, होटल १५ दशमलब ८४, उत्पादनमूलक ३० दशमलब १ अंकले घटेका कारण बजार ओरालो लाग्यो।

विकास बैंक १७ दशमलब ३१, जलविद्युत ९ दशमलब २७, फाइनान्स ३ दशमलब ८७, इन्स्योरेन्स ६ दशमलब ०७ र अन्य २ दशमबल ८९ बढेका छन्।

परिसूचक घटेपनि बुधबार चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। महिला सहयात्रा माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले करिब १० प्रतिशतले बढेका हुन्। बुधबार सिर्जना फाइनान्सका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्