पार्टी राजनीतिका पदचाप



डा. ईश्वरीप्रसाद गैरे

नेपाली राजनीतिमा राजतन्त्रभन्दा पछिल्लै राजनीति भए पनि पार्टी राजनीति आफैंमा महत्वपूर्ण ऐतिहासिक राजनीति बन्न सबल एवम् सक्षम र समर्थ भइरहेको देख्न सकिन्छ। यो पार्टी राजनीति राजतन्त्रात्मक राजनीति हुँदादेखि शुरु भएर राजतन्त्र समाप्त हुँदासम्म सञ्चालित भइरहेको देख्न पाइन्छ। शुरुमा फुच्चे पार्टी राजनीति बिस्तारै विकसित बन्दै राजतन्त्रको समेत बिदाइ गरेर नेपालको माहिर पार्टी राजनीति बन्न सामथ्र्य भएको छ।

नेपाली जनश्रुतिमा राजतन्त्रात्मक राजनीति चलाउन त्रिभुवनले महेन्द्रलाई तालिम र महेन्द्रले वीरेन्द्रलाई तालिम दिँदै अघि बढाइएको कुरा पाइन्छ भने पार्टी राजनीतिमा राजतन्त्र विरोधी राजनीतिले एकपछि अर्को कदमको अनुभव गर्दै बिस्तार–बिस्तार सामथ्र्यवान बन्दै राजतन्त्र हुँदा नै सफल र विकसित बन्न पुगेको देखिन्छ। राजतन्त्रको बिदाइपछिको पार्टी राजनीति समृद्ध राजनीति बनेर नेपाली भूमिमा उदाउन सक्षम भइरहेको छ।

राजतन्त्रमा राजा मात्रै राज्यको सर्वेसर्वा हुन्थे भने जनता रैती हुन्थे तर पार्टी राजनीतिको राजनीतिक प्रक्रिया अघि बढेर सफल, सक्षम र समर्थ भएपछि राज्यका सर्वेसर्वा एकमात्र राजा हुने ठाउँमा नेपालका प्रत्येक जनता भएका छन्। जनता सार्वभौम सत्ता सम्पन्न नेपालका अधिकारिक हक–अधिकार भएका जनता भएका छन्। यो नै पार्टी राजनीतिको सबभन्दा ठूलो उल्लेख्य कार्य भएको छ, कार्यगत ऐतिहासिक योगदान भएको छ।

राजतन्त्रको बिगबिगी भएका बेला एउटा कार्यकर्ता, अर्को कार्यकर्ता गर्दै, सदस्य बनाउँदै पार्टीको स्वरूप निर्माण गर्न कति दुःसाध्य थियो, त्यो यथार्थ अवस्था आजका पार्टीहरूलाई थाहा छ। एउटा पार्टीले कति सङ्घर्ष, कति समस्या र कति आपद बेहोर्दै निर्माण हुन पुगेको थियो, त्यो समेत पार्टी र पार्टीका नेताहरूलाई थाहा छ। गाउँ–गाउँ घुमेर प्रत्येक जनतालाई आफ्नो पार्टीतिर आकर्षित गर्दै र प्रभाव पार्दै पार्टी निर्माण गर्नु साँच्चै भन्ने हो भने दाँतेबह खानुझैँ सङ्घर्ष थियो।

आफूलाई पार्टीको राजनीति गर्नु छ तर जनता राजालाई विष्णुका अवतार मान्थे, राजतन्त्रका विरुद्ध बोल्ने र क्रियाकलाप गर्ने नेतालाई अराजकतावादी विदेशी तत्व, विदेशी दलाल भनेर हेय दृष्टिले हेर्ने चश्मासमेत नेपाली जनसमुदायमा कायमै थियो। यस्तो अप्ठेरो स्थितिमा एउटा कार्यकर्ता र एउटा सदस्य बनाउनसमेत धौ–धौ परेको बेला सिंगा पार्टीहरु कसरी निर्माण भए होलान्, कसरी त्यसबाट क्रान्ति र आन्दोलन भए होलान् ? अनि त्यो कसरी सफल भएर गति र परिणाम भित्र्याए होला ? यो एउटा गम्भीर, संवेदनशील र मार्मिक पार्टी राजनीतिका पदचापहरूको खुल्ला आकाश हो भन्न सकिन्छ।

कांग्रेसकै कुरा गरौँ, राजालाई बचाउन हिँडेको २००७ सालको पार्टी २०१७ सालमा राजाबाट आहत भयो र सङ्घर्ष गर्दागर्दै २०३६ सालको जनमत संग्रहमा पराजयजस्तो नमीठो अनुभव गर्दै २०४६ सालको प्रजातन्त्र प्राप्तिमा खुशी भयो। पुनः ज्ञानेन्द्रद्वारा बादलको कुहिरिमण्डल देशमा छोप्ने गरेकोमा त्यसलाई समेत चिर्दै गणतन्त्र र लोकतन्त्रको सूर्योदयको बिहानी ल्याउन सक्षम भयो। यस्तै नेपालका कम्युनिस्ट पार्टीहरू राजतन्त्रविरुद्ध सङ्घर्ष गर्दै, आन्दोलन र क्रान्तिका जुझारू पदचापहरू कायम गर्दै, पञ्चायत–प्रजातन्त्र हुँदै, लोकतन्त्र र गणतन्त्रसम्मका सङ्घर्षका मैदानीहरूमा जीत हात पार्दै नेपालको राजनीतिमा आ–आफ्नै किसिमका वर्चश्वहरू कायम गर्न पुगेको देखिन्छ।

सङ्घर्ष र परिवर्तनकै यात्राका क्रममा विश्वेश्वरप्रसाद कोइराला, मदन भण्डारीजस्ता सर्वाेच्च नेता नेपाली राजनीतिले प्राप्त गर्यो। यिनीहरूको नेतृत्वकै सङ्घर्षले देशमा राजतन्त्रको राजनीतिलाई टक्कर दिँदै अन्त्यतः गिरिजाप्रसाद कोइरालाद्वारा ज्ञानेन्द्रको राजतन्त्रात्मक शासनलाई तासको घरझैँ भताभुंग पारी लोकतन्त्र–गणतन्त्रको अवतरण गरिएको पाइन्छ। हिजोका पञ्चायतका दिनहरूमा, राजतन्त्रका बिगबिगीका ती समयमा पञ्चायतकै विरुद्ध, राजतन्त्रकै विरुद्ध सङ्घर्षका मैदानहरूमा अघि बढेका कम्युनिस्ट पार्टीहरूलाई टुटाउँदै, फुटाउँदै र प्रयोग गर्दै राजतन्त्रले पार्टीहरूमा के गरेन, तर ती पार्टीको मूल प्रवाहमा सिंगो राजनीतिलाई थाती राख्दै क्रान्ति र सङ्घर्षका एकपछिका अर्का आन्दोलनमा सक्रिय भई अघि बढेको साक्ष्य इतिहास हामी सामुबाट प्रस्टै गुज्रिएको देख्न सकिन्छ।

यस्तै कांग्रेस पार्टीलाई २०१७ सालपछि खेलाउँदै, नचाउँदै र प्रयोगको गोटी बनाउँदै हिँड्न सफल पञ्चायत र यसको राजतन्त्रको राजनीतिलाई चेतावनी दिँदै कांग्रेस राजनीतिको मूलप्रवाहमा निरन्तर आजसम्म आइपुगेको दृश्य हामीसामु प्रस्टै रहेको देखिन्छ।

हिजोका दिनहरूमा राजतन्त्र र त्यसको स्वार्थमा हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी कांग्रेस र कम्युनिस्ट राजनीतिलाई पटक–पटक दुःख दिन, सताउन र त्रापद अवस्था सिर्जना गर्न मरिमेटेर लागेको इतिहास छ भने लोकतन्त्र र गणतन्त्रको बिहानीमा समेत त्यो पार्टी घरी राजतन्त्र त घरी धर्मतन्त्र गर्दै आफ्नो राजनीतिक अर्थ साँध्न प्रतिबद्ध भएको खुलासा गर्दै हिँड्ने गरेको देख्न सकिन्छ। सङ्घर्षका ती पुराना दिनहरूमा कांग्रेस, कम्युनिस्ट र राप्रपाजस्ता तीनवटा पार्टी मात्र पार्टीका रूपमा रहेका थिए। कांग्रेस कम्युनिस्टको विपक्ष राजनीति र राजतन्त्र प्रजातन्त्रको स्वकीय पक्षको राजनीतिमा सक्रिय भई हिँडेको सम्झना हामी सामु ताजै छ।

नेताहरूको धरपकड, कार्यकर्ताहरूको धरपकड र समर्थनहरूको धरपडक गर्दै क्रूर यातना दिन पछि नपरेको राजतन्त्र पापको पराकाष्ठाको घ्याम्पो भएपछि जनता जनार्दन र नेता एवम् तिनका पार्टीकै क्रान्ति आन्दोलन र सङ्घर्षले प्वाट्ट फुटेर सखाप भएको साक्ष्यसमेत हाम्रा सामु छँदै छ। राजतन्त्रका निरंकुश शासनका क्रियाकलापमा कति कांग्रेस, कति कम्युनिष्ट नेता–कार्यकर्ता र जनता सहादत भए ? अझैसम्म यकिनसाथ भन्न सकिँदैन। जे–जति बाँचेका छन्, तिनलाई जिउँदा शहीदको संज्ञा दिँदा फरक नपर्ने देखिन्छ। किनभने त्यति बेलाको उनीहरूको जीवन भनेको जति बेला पनि धरपकड, जेल चलान र भरसक मृत्युको परिणामले भरिएको हुन्थ्यो। यस्तो क्रूर शासनको नियति भोग्दासमेत आफ्नो कांग्रेस पार्टी, आफ्नो कम्युनिस्ट पार्टीमै अडान लिई कम्मर कसेर राजतन्त्र, पञ्चायतविरुद्ध क्रान्तिका पदचापहरू बुलन्द गरी हिँडेका ऐतिहासिक प्रमाणहरू ज्यूँदा–जाग्दा भएका पाइन्छन्। यसरी नै कठोर, क्रूर, निरंकुश शासनका दुःखद पीडा भोगेका पार्टीहरू नै आज त्यस कालो कलंकको राजनीतिलाई च्यातेर लोकतन्त्रको बिहानी ल्याउँदै दिवा राजनीतिक यात्रातर्फ संलग्न भइरहेको देख्न पाइन्छ।

आजका समयसम्ममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, मधेसी मोर्चा, राप्रपाजस्ता पार्टीहरू सत्तासीन भइसकेका छन्। बिस्तारै सत्ता चलाउन खप्पिस र माहिर हुँदै गइरहेका छन्। जनता यी पार्टीभन्दा चनाखा र टाठाबाठा भइसकेका छन्। फलस्वरूप प्रतिस्पर्धात्मक राजनीतिक चुनावी यात्रामा योग्य उम्मेदवारलाई मात्र आफ्नो मतदान दिन जनता अग्रसर भइसकेका छन्। कुनै दिनका फुच्चेफाच्चे पार्टीहरू आज देशको शासनको बागडोर लिएर हिँडन समर्थ छन्। समयले पार्टीहरूलाई पातालबाट आकाशमा पुर्याइसकेको छ। तैपनि संसदीय व्यवस्थाको सत्ता सञ्चालनको जो आकर्षण, महत्व र प्रभाव पार्टी राजनीतिले दिनुपर्ने हो त्यो दिन नसकेको यस अवसरमा पार्टी राजनीतिक शासन सत्ता बारम्बार आलोचित, अपहेलित र महत्वहीन बन्न पुगेको यथार्थसमेत पार्टी राजनीतिक पदचापकै यथार्थ भइरहेको छ।

आज देशको राजनीतिमा प्रजातान्त्रिक प्रक्रिया र यसको राजनीति एवम् त्यो राजनीतिको राजनीतिक चेतना अत्यन्त प्रखर, तीक्ष्ण र तीव्रत्तररूपमा वृद्धि हुँदै गइरहेको छ भने कुनै दिन राजतन्त्र हटाउन सक्ने खूबी भएका नेताहरूको ढालेढुले र आकर्षणविहीन, प्रभावहीन सत्ता राजनीति चलाएको देख्दा जनता मर्माहत छन् भने नेता किंकर्तव्यविमुढ छन्। आलोचनाका सिकार भएका छन्। यसरी पार्टी राजनीतिक पदचाप बिस्तारै सिक्दै, अनुभव गर्दै, अघि बढ्दै पार्टी राजनीतिक पदचाप बन्न बिस्तारै अग्रसर हुँदै गइरहेको देख्न सकिन्छ।

अन्त्यमा भन्नुपर्दा, हिजो राजतन्त्र हुँदा विपक्षी बनेका पार्टीहरू राजतन्त्रको विरोध गर्दा आकर्षण र प्रभावी देखिएका थिए। आज पार्टी राजनीतिमा सत्तापक्ष पनि पार्टी राजनीतिमै छ र प्रतिपक्ष पनि पार्टी राजनीतिकै छ। यस्तो परिस्थितिमा विरोधका लागि विरोध गर्ने प्रतिपक्ष राजनीतिभन्दा देशको राजनीति राम्रो रूपमा बढाउन सहमति दिएर हुन्छ कि, सकारात्मक वस्तुगत आलोचना गरेर हुन्छ कि, शासन सत्ता चलाउँदा बुद्धि र व्यावहारिक पक्षकै सहमति, सहयोग र प्रयोग गरेर हुन्छ कि, यसतर्फ पार्टी राजनीतिका पदचापहरू अघि बढाउनु अत्यावश्यक भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्