साइनबोर्ड रातारात गायव



सरिता चलाउने

प्रदेश नं. ६ को सल्यान जिल्ला ३ नगरपालिका र ७ गाउँपालिकाका साइनबोर्ड रातारात हराएका छन्। जिल्लाका शारदा, वनगाड कुपिण्डे र बागचौर नगरपालिका नगरका बोर्डसहित कपुरकोट, छत्रेश्वरी, त्रिवेणी, डोरचौर, कुमाखमालिका र दार्मा गाउँपालिकाका बोर्डहरु हराएका छन्।

पहिचान नखुलेका मानिसहरुको समूहले सोमबार राति जिल्लाका १० वटै स्थानीय तहका बोर्ड गायव पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै १० वटै तहका भित्तेबोर्ड र नागरिक वडापत्रमा पनि रंग छ्यापिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए। उनका अनुसार अहिलेसम्म बेपत्ता बोर्ड फेला परेका छैनन्।

यसैबीच नेत्र विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घटनाको जिम्मेवारी लिएको छ। सो पार्टीका राप्ती ब्युरो प्रवक्ता डिल्लीराज शर्माले शान्तिपूर्ण सभा गर्न नदिएको विरोधमा स्थानीय तहका बोर्ड हटाएको बताए। शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्ने क्रममा पक्राउ परेका आफ्ना पार्टीका कार्यकर्तालाई तत्काल रिहा गर्न उनले आग्रह गरे। आसन्न स्थानीय तहको चुनावको खारेजीको माग गरिरहेको सो पार्टीले चुनावमा उम्मेदवारी नदिनसमेत उम्मेदवारहरुलाई चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्