पुँजी बजारमा ४ अर्बको नोक्सानी



काठमाडौं, (नेस)
राजनीतिक विवादसँगै स्थानीय निकायको निर्वाचन र जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट आउने नआउने अनिश्चिता बढ्दै जाँदा त्यसको प्रभाव शेयर बजारमा परेको छ। अघिल्ला दिनमा वृद्धि भएको नेप्से राजनीतिक विवाद सतहमा आएर बजेट र निर्वाचनको अनिश्चिता भएपछि ओरालो लागेको हो।

यसै सन्दर्भमा मंगलबार नेप्से परिसूचक ३ दशमलब ४० अंकले ओरालो लागेर १६ सय ७२ दशमलब ३८ अंकमा झरेर बन्द हुँदा समग्र बजार पुँजीकरण चार अर्बले घट्दै १९ खर्ब ३७ अर्ब कायम भएको छ। यसदिन १ सय ४७ कम्पनीको १४ लाख कित्ता शेयर १ अर्ब १३ करोड रुपियाँबराबरमा किनबेच भएको छ।

यस दिन बैंकिङ समूह र जलविद्युत् समूह ८ अंक र अन्य समूह १ अंकले गिरावट हुँदा बीमा समूह ५१ अंक, होटल समूह २१ अंक, व्यापार समूह २ अंक र फाइनान्स समूह ३ अंकले बढे भने विकास बैंक तथा उत्पादन समूह शून्य दशमलब शून्य २े अंकले वृद्धि भएका छन्। बैंकिङ समूहमा गिरावट आउन बाफिया ऐनमा लालमोहर लागेपछि कयौं बैंकरहरूले पद छोड्नुपर्ने अवस्था सिर्जना भएसँगै बैंकिङ समूहतर्फ लगानीकर्ता हच्किएका छन्।

मंगलबार हिमालयन जनरल इन्स्योरेन्सको ९ करोड ९४ लाख, प्राइम लाइफ इन्स्योरेन्सको ८ करोड ४२ लाख, प्रभु बैंकको ४ करोड ८३ लाखको शेयर कारोबार भएको छ। यस दिन स्वरोजगार लघुवित्त, ललितपुर फाइनान्स र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाउँदा पोखरा फाइनान्स तथा मिथिला लघुवित्त कम्पनीका लगानीकर्ताले ६ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्