पूर्वलडाकू चुनावी मैदानमा



नवीन श्रेष्ठ, सिन्धुली

हतियार बोकेर सशस्त्र संघर्षमा होमिएका तत्कालीन माओवादीका लडाकू अहिले स्थानीय तहको चुनावी मैदानमा छन्। नेकपा माओवादी केन्द्रबाट जिल्लाका विभिन्न स्थानमा पूर्वलडाकूहरु विभिन्न पदका लागि चुनावी मैदानमा उत्रेका हुन्।
सामन्तवादी राज्य व्यवस्थाको अन्त्य, सर्वहरावर्गको मुक्ति र अधिकारका लागि बन्दुक बोकेर लडाइँ लड्ने योग्दाहरु अहिले जनयुद्धको जगमा नै सिंहदरबारको अधिकार स्थानीय तहमा आएको भन्दै त्यसको नेतृत्व गर्न चुनावी मैदानमा उत्रिएका हुन्। नेकपा माओवादी केन्द्रका अधिकांश उम्मेदवार जनयुद्धकै पृष्ठभूमिका छन् भने केही जनमुक्ति सेनामा रहेर काम गरेका पनि चनावी मैदानमा छन्। पूर्वलडाकू ब्रिगेड कमान्डर खड्गरजन मगर (धीरज) फिक्कल गाउँपालिकाको प्रमुख पदका लागि चुनावी मैदानमा छन्।

त्यस्तै अर्का पूर्वलडाकू बटालियन सहकमान्डर सुस्पा भुजेल (आस्था) गोलन्जोर गाउँपालिकाको उपप्रमुखका लागि चुनावी मैदानमा छिन्। उनले जनयुद्धमा नै श्रीमान् गुमाएकी थिइन्। पूर्वलडाकू विमर्श मोक्तान (प्रख्यात) मरिण गाउँपालिका वडा नं. ६ को वडा अध्यक्षको उम्मदेवार हुन्। प्लाटुन कमान्डार चन्द्रमाया खत्री सार्की कमलामाई नगरपालिका वडा नं. ४ को दलित महिला सदस्यको उम्मेदवार छिन् भने कम्पनी सहकमान्डर सुनमाया पाख्रिन (स्मृति) कमलामाई नगरपालिका वडा नं. ५ को महिला सदस्यका उम्मेदवार हुन्। पूर्वलडाकू कमला विक दुधौली नगरपालिका वडा नं. ११ को दलित महिला सदस्यका उम्मेदवार बनेकी छिन्। सिन्धुलीमा करिब १ दर्जन उम्मेदवारहरु पूर्व लडाकु छन्।

‘सामन्तवादका नायिके राजसंस्था फाल्न बन्दुक बोकेर लडियो, अहिले जनयुद्धको जगमा टेकेर नै गणतन्त्र स्थापना भयो र संविधानमा नै महिला, जनजाति, दलितको अधिकार स्थापित भयो, अब संविधान कार्यान्वयन गरेर संविधान उल्लेख भएको अधिकार कार्यान्वयनका लागि चुनावी मैदानमा उत्रिएकी छु –सुस्पा भुजेल भन्छिन्। चुनावी मैदान पनि युद्ध मैदान जस्तै संघर्षपूर्ण रहेको बताउँदै युद्ध मैदानबाट सफलता प्रप्त गरेको जस्तै चुनावी मैदानबाट पनि जित हाँसिल गर्ने उनको विश्वास छ।

अहिलेको उपलब्धि जनयुद्धबाट प्राप्त भएकाले त्यसको कार्यान्वयका लागि नेतृत्व गर्न पाउनुपर्ने र जनताले विश्वास गरेर जिताउनेमा कमलामाई नगरपालिका वडा नं. ५ की महिला सदस्य उम्मेदवार सुनमाया पाख्रिन (स्मृति) विश्वस्त छिन्। युद्ध मैदानबाट मिलेको सफलता जस्तै जुनावी मैदानबाट पनि सफलता मिल्नेमा प्राख्रिन जस्ता उम्मेदवारको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्