घरैपिच्छे पार्टीका झण्डा



नेपाल समाचारपत्र, हेटौंडा । पूर्वी मकवानपुरको व्यापारिक केन्द्र फापरबारीमा चुनावी रौनकता बढेको छ । फापरबारीका एकै घरमा चार पार्टीका झण्डा देख्न पाइन्छ । कांग्रेस, एमाले, माओवादी र राप्रपाका झण्डाहरु घरैपिच्छे देखिन्छन् ।

बजार प्रवेश गरेसँगै बाटोका दुवै साइडका घरमा झण्डैझण्डा देख्न सकिन्छ । मकवानपुरको धियाँल, राईगाउँ, बेतिनिका साथै सिन्धुली र काभ्रेका उपभोक्ता किनमेलका लागि आउने फापरबारीमा चुनाव लागेसँगै यस्तै रौनकता आउने गरेको स्थानीय रामकृष्ण राई बताउँछन् ।
घरका साथै सडकका पोल र रुखसमेत पार्टीका झण्डाले झकिझकाउ देखिन्छन् । छतिवनबाट भुवनचुली काटेसँगै सडकछेउका घरमा पनि झण्डाहरु देखिन्छन् । बजारमा पार्टी र उमेदवारबारे समेत छलफल गरिरहेका स्थानीय भेटिन्छन् ।

उक्त क्षेत्रबाट संसदीय निर्वाचनमा पहिलोपटक कांग्रेस विजयी भएको थियो । सांसद् इन्द्रबहादुर बानियाँ गृह राज्यमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्