माओवादीले लगायो उम्मेदवारको टुंगो



विनोदसिंह विष्ट⁄बैतडी

नेकपा माओवादी केन्द्रले बैतडीका १० वटै स्थानीय तहमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवारको टुंगो लगाइएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य) ले जानकारी दिनुभयो।

माओवादीले दशरथचन्द नगरपालिकाको मेयर पदका लागि खिमानन्द भट्ट, पाटन नगरपालिकामा मेयरका लागि शंकर भण्डारी र उपमेयरका लागि राधिका खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै पुर्चाैडी नगरपालिकामा मेयरका लागि रणबहादुर कुँवर र उपमेयरका लागि जयन्ती बमलाई उम्मेदवार बनाइएको भट्टले जानकारी दिनुभयो। मेलौली नगरपालिकामा मेयरका लागि भीम बहादुर चन्दलाई उम्मेदवार बनाएको छ भने उपमेयरको टुंगो लाग्न बाँकी रहेको जनाइएको छ। यस्तै जिल्लाका ६ वटा गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाएको माओवादी केन्द्रले जनाएको छ।
डिलासैनी गाउँपालिकामा अध्यक्ष पदका लागि लोकेन्द्रबहादुर राना र उपाध्यक्ष पदका लागि सुशीला साउदलाई उम्मेदवार बनाएको छ भने दोगडा केदारमा अध्यक्षमा तारा कुँवर र उपाध्यक्षमा लक्ष्मी ओडको नाम राखिएको छ। यसै गरी सुर्नया गाउँपालिकामा अध्यक्षक पदका लागि नरी भाट, सिगास गाउँपालिकामा वीरसिंह ऐर, शिवनाथ गाउँपालिकामा धनवीर धनाडीलाई उम्मेदवार बनाएको छ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा अध्यक्षका लागि रमेश चन्द र उपाध्यक्षका लागि मञ्जु चन्दलाई अघि सारिएको नेकपा माओवादी केन्द्रले जनाएको छ। जिल्ला संयोजक भट्टका अनुसार ८४ वडामा पनि वडा अध्यक्ष र सदस्यहरुका नाम टुंगो लागिसकेको छ। केही स्थानीय तहमा उपाध्यक्षका उम्मेदवार तय गर्न बाँकी रहेकाले आइतबारसम्म सकिने उहाँले बताउनुभयो। बैतडीमा नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाए पनि नेपाली कांग्रेस र नेकपा एमालेलाई उम्मेदवार छनौट गर्न सकस परेको छ।

पार्टीमा पदका आकांक्षी धेरै भएकाले उम्मेदवारको नामावली टुंग्याउन नसकिएको नेपाली कांग्रेस बैतडीका सचिव वीरबहादुर विष्टले जानकारी दिनुभयो। यस्तै नेकपा एमालेले स्थानीय तहमा नेतृत्व गर्ने आकांक्षीहरुमध्ये नाम अनुमोदनका लागि प्रदेश कमिटीमा पठाएको एमाले सचिव लीलाधर भट्टले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्