चुनावी एजेन्डामा समेटिएनन् भूकम्पपीडित



रोशन पराजुली⁄हेटौंडा

भूकम्पबाट ठूलो क्षति भएको १४ जिल्लामध्ये मकवानपुर पनि एक हो। सबभन्दा बढी क्षति भएको मकवानपुरको नामटारका बासिन्दाले अझै पनि पीडा बिर्साउन सकेका छैनन्। सरकारको उपस्थिति न्यून हुँदा उनीहरुले गुनासो राख्ने निकायसम्म भेटेका छैनन्। सरकारले बेवास्ता गर्दा बसोबासको अझै टुंगो लाग्न नसकेको नामटार झिरघारीका पीडित कमला रुम्बाले बताइन्। उनले २ वर्षमा पनि सरकारले सहयोग नगरेकाले अब आश नै मरिसकेको बताइन्।

जिविस मकवानपुरको तथ्यांकअनुसार जिल्लाभर भूकम्पबाट ४७ जनाको मृत्यु भएको थियो। भूकम्प र पराकम्पबाट १ सय ९० जना घाइते भएका थिए। तथ्यांकमा उल्लेख भएअनुसार सदरमुकाम हेटौंडामा मात्र ७ जनाको मृत्यु भएको थियो। नामटारमा सबभन्दा बढी १० जनाले ज्यान गुमाएका थिए। स्थानीय तह निर्वाचनका लागि मात्र १९ दिन बाँकी रहँदा २०७२ वैशाख १२ गते भूकम्पको २ वर्ष बित्दै छ। ठूला राजनीतिक दल यतिबेला आ–आफ्ना एजेन्डा लिएर जनतामाझ हात जोड्दै पुग्दै छन्।

यद्यपि, भूकम्प अतिप्रभावित मकवानपुरका राजनीतिक दल र उमेदवारले हालसम्म पीडितका विषयमा न कुनै एजेन्डा तय गरेका छैन्, न त सहानुभूति नै। २० हजारबढी पीडित रहेको जिल्लामा दलहरुले पीडितका लागि कुनै एजेन्डा नल्याउँदा पीडित थप निराश बनेका छन्। पूर्णराहत, अनुदान र घर बनाउन सरकारबाट सहयोग नहुँदा पीडित बनेका नामटार र आग्राबासीले चुनावपछि जनप्रतिनिधिले आफ्नो पीडालाई साम्य पार्ने केही एजेन्डा ल्याउनेमा ढुक्क भए पनि दलहरुले साझा एजेन्डालाई प्राथमिकता दिएर जनताको दैलोमा पुगेपछि उनीहरुमा निराशा थपिएको हो। आग्रा–८, देवीथानका पीडित रामलाल घलान भन्छन्– ‘हाम्रो पीडालाई दलका कसैले बुझेनन्।’

गाउँपालिकामा मात्र होइन, हेटौंडा उपमहानगरमा नै पनि त्यस्ता केही एजेन्डा जनतामाझ पुगेका छैनन्। सरकारले मकवानपुरलाई भूकम्प प्रभावित जिल्लामा समावेश गरेको छ। जिल्लामा कडा प्रतिपर्धीका रूपमा हेरिएको कांग्रेस, एमाले, राप्रपा, मालेले स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन, सडक, विद्युत्, खानेपानी, औद्योगिक विकास, कृषि र व्यवस्थित शहरीकरणलाई मात्र मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।

नेपाली कांग्रेसका सचिव आनन्द कठायत, कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, मेयर उम्मेदवार चयन भएका नेकपा माओवादी केन्द्र उपमहानगर इन्चार्ज बलराम बल, राप्रपाबाट मेयर उम्मेदवारमा मधु अधिकारी, नेकपा मालेका मेयर उम्मेदवार भीमसेन महतले भूकम्पपीडितका लागि हालसम्म कुनै एजेन्डा तय नगरेको बताए।

उनीहरुले पर्यटकीय विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक विकास र समुन्नत उपमहानगरमा जोड दिएको भनाइ राखे।

२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण मकवानपुरका करिब ३० हजार घर पूर्णरूपमा क्षति भएको तथ्यांक छ। मकवानपुरमा पूर्णक्षति भएका करिब २० हजार घर–परिवारले अनुदान सम्झौता गरेका छन्, जसमध्ये करिब १९ हजार घर–परिवारले पहिलो किस्ता रकम लगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्