एउटै पार्टीबाट २ दर्जन आकांक्षी



विनोद सिंह विष्ट, बैतडी

स्थानीय तहको निर्वाचनका लागि बैतडीका ४ नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवारका आकांक्षी बढी हुँदा नेपाली कांग्रेसलाई उम्मेदवार छनोट गर्न सकस परेको छ।

पाटन नगरपालिका र मेलौली नगरपालिकामा १३÷१३ जना आकांक्षी देखिएका छन्।

कांग्रेसबाट मेयर पदका लागि पाटनमा गौरीसिंह रावल, सिद्धराज भट्ट, केशवबहादुर चन्द, मदनमोहन विष्ट, जयसिंह विष्ट, मानबहादुर ऐर, रमेश पाण्डे, नरेन्द्रसिंह विष्ट, भूपेन्द्र भण्डारी, किरण राई, गगनसिंह ऐर, उत्तरबहादुर चन्द र वसन्तप्रकाश विष्ट आकांक्षी देखिएका छन्। मेयर पदका लागि आकांक्षी धेरै भएपछि उम्मेदवारको टुंगो लगाउन छलफल भइरहेको क्षेत्रीय सभापति गौरीसिंह रावलले जानकारी दिए।

त्यस्तै मेलौली नगरपालिकाको मेयर पदका लागि पनि सो पार्टीबाट १३ जना आकांक्षी देखिएका छन्। कृष्णसिंह नायक, प्रेमबहादुर चन्द (आगर), प्रेमबहादुर चन्द (सम्राट), कृष्णदत्त भट्ट, इन्द्रदेव भट्ट, श्रवण ठगुन्ना, गम्भीरबहादुर चन्द, तारादत्त भट्ट, महेश भट्ट, शेरबहादुर चन्द, शंकरदत्त भट्ट, देवेन्द्र भट्ट र केशवदत्त भट्टको नाम क्षेत्रीय समितिमा आएको नेपाली कांग्रेस क्षेत्र नं–२ का क्षेत्रीय सभापति तेजबहादुर चन्दले बताए।

त्यस्तै दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका लागि कांग्रेसबाट गोपालसिंह कार्की, चन्द्रबहादुर भाट, देवराज जोशी, घनश्याम भट्ट, शिवराज भट्ट, डम्मर ठगुन्ना, पृतबहादुर विष्ट र हेमराज जोशी आकांक्षी देखिएका छन्। पञ्चेश्वर गाउँपालिकामा दिनेशबहादुर चन्द र रमेश भण्डारी आकांक्षी देखिएका छन् भने शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा अध्यक्ष पदका लागि सहमति भएको छ।

शिवनाथमा कर्णसिंह साउद र डिलाशैनीमा कर्णबहादुर रानाको नाम अध्यक्ष पदका लागि सर्वसम्मत भएको क्षेत्रीय सभापति चन्दले जानकारी दिए।

पुरचौडी नगरपालिका, सिगास गाउँपालिका, सुरनया गाउँपालिका र दशरथचन्द नगरपालिकामा उम्मेदवारका आकांक्षीहरुको नाम आउने क्रम जारी रहेको सो पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्