६ मधेसी दल मिले



बीपी साह, काठमाडौं
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एउटै पार्टीमा परिणत भएको छ। मधेसी मोर्चामा आबद्ध ६ वटा पार्टीबीच एकीकरण भएर ‘राष्ट्रिय जनता पार्टी’ बनेको छ। एकीकरणसँगै राष्ट्रिय जनता पार्टी (राजपा) मधेसको पहिलो र व्यवस्थापिका संसद्मा पाँचौं शक्ति बनेको छ। राजपासँग २५ जना सांसद रहेका छन्, जसमध्ये सञ्जय साह निलम्बित छन्।

दोस्रो संविधानसभाको निर्वाचनमा नराम्ररी हार बेहोरेको मधेसी मोर्चामा आबद्ध दलहरू एकीकरणका लागि प्रयासरत थिए। व्यवस्थापिका संसद्ले राष्ट्रिय पार्टी बन्न समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा एक सिट अनिर्वाय गरेपछि विकसित घटनाक्रमअनुसार मोर्चामा आबद्ध पार्टीहरू एकीकृत भएका हुन्। तर मोर्चाको अर्को घटक उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल एकीकरणमा सहभागी भएन। यादव डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरणको अन्तिम चरणमा रहेकाले राजपामा सहभागी नभएको बताइएको छ। तर, फोरम नेपालका केही नेताहरूले राजपामा सहभागी हुने जनाएका छन्। त्यस्तै, विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का केही नेताहरू पनि राजपामा आउने भएका छन्।

पार्टी एकीकरणको अन्तिम टुंगो बुधबार राति साढे १ बजे लागेपछि बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी एकता घोषणा गरिएको हो। मोर्चामा आबद्ध पाँच पार्टीका अध्यक्षहरूले बुधबार राति नै सम्पूर्ण विषयको टुंगो लगाइसकेका थिए। एकता घोषणा कार्यक्रममा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरद्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच एकता घोषणा भइसकेको थियो। कार्यक्रमको अन्तिममा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा सहभागी हुनुभएको थियो।

त्यस्तै, हरिचरण साह अध्यक्ष रहेको नेपाली जनता दल र मेघराज निषाध अध्यक्ष रहेको मधेस समता पार्टी पनि एकीकरणमा सहभागी हुन चाहेका छन्।
तर अरु पार्टीहरू पनि एकीकरणमा आउन चाहेकाले अब एकैपटक अरु पार्टीहरूलाई पनि सहभागी गराइने नवगठित राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

नव गठित पार्टीको चुनाव चिन्ह छाता राखिएको छ भने माथि रातो, बीचमा सेतो र तल हरियोसँगको झण्डामा छाताको चिन्हसहित पार्टीको झण्डा रहेको छ। पार्टीको संसदीय दलका नेता महेन्द्र यादव बन्नुभएको छ। एक वर्षभित्र महाधिवेशन गर्ने सर्तमा हालका लागि अध्यक्ष मण्डलको निर्माण गरिएको छ। अध्यक्ष मण्डलमा छवटै पार्टीका अध्यक्षहरू रहेका छन्। अन्य पदाधिकारीहरूलाई उक्त पदमै सामुहिक नेतृत्वको शैलीमा मिलाइएको छ।

पार्टी एकीकरणपछि पहिलोपटक अध्यक्ष मण्डलको बैठक कार्यक्रम स्थलमा बसेको थियो। उक्त बैठकले निर्वाचनको सशक्त विरोध गर्ने निर्णय गरेको छ। कार्यक्रममा बोल्ने अधिकांश अध्यक्ष मण्डलका सदस्यहरूले संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नदिने अडान दोहर्याएका थिए। आफूहरू निर्वाचन विरोधी नरहेको तर्क गर्दै उनीहरूले मधेसी आदिवासी जनजातिहरूको माग सम्बोधन नभए मात्र निर्वाचनमा सहभागी हुने जनाउनुभयो।

अध्यक्ष मण्डलको बैठकले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलका विषयमा पनि एजेन्डाहरू तय गरेको छ। अध्यक्ष मण्डलको पहिलो बैठकले मधेसका जिल्लाहरूमा गर्ने कार्यक्रमका बारे पनि छलफल गरेको छ। काठमाडौंमा पार्टी एकीकरण घोषणा भएपछि मधेसका जिल्लाहरूमा दिपावली मनाइएको छ।

यता विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टीबीच एकता भएको छ। एक साताभित्रै महाधिवेशन गरेर पार्टीको नाम फेरेर नेपाल लोकतान्त्रिक पार्टी राखिने घोषणासमेत गरिएको छ। थरुहट तराई पार्टीसँग एक सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस्