आकांक्षी धेरै भएपछि मतदानबाट टुङ्गो



पोखरा, ७ वैशाख । नेकपा एमाले कास्कीले पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट टुङ्गो लगाउने भएको छ ।

पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पूर्व मेयर तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापा, युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारी र प्रदेश नं ४ का सदस्य श्रीनाथ बराल मेयर पदको दाबेदार बन्नुभएको छ ।

त्यस्तै, उपसचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, जिल्ला सदस्य पोखरा लेखनाथ–११ की मीना गुरुङ, पूर्व जिल्ला उपसचिव देवका पहारी र केन्द्रीय विभागकी सदस्य पोखरा लेखनाथ–१९ की मीना गुरुङ उपमेयर पदका दाबेदार हुनुहुन्छ ।

मुलुकमै क्षेत्रफलमा सबैभन्दा ठूलो एवम् पर्यटकीय नगरी यस महानगरपालिकाको उच्च पदमा रहेर काम गर्ने उत्कट इच्छाका कारण कसैले पनि उम्मेदवारीको दाबी नछाडेपछि जिल्ला कमिटीलाई निकै सकस परेको र मतदान प्रक्रियाबाट उम्मेदवार छान्ने निर्णय भएको जिल्ला कमिटीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

जिल्ला कमिटीले शुक्रबार पार्टीको पोखरा–लेखनाथ महानगर सङ्गठन कमिटीको बैठक डाकेको छ र त्यही बैठकले लोकप्रिय नेता छानिने बताइएको छ । सो कमिटीमा ४४१ जना सदस्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्