वन्यजन्तु सप्ताह सम्पन्न



काठमाडौँ, ७ वैशाख । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको अगुवाइमा यही वैशाख १ गतेदेखि सुरु भएको साताव्यापी ‘२२औँ वन्यजन्तु सप्ताह’ विभिन्न कार्यक्रम गरी आज सम्पन्न भएको छ ।

‘युवाको अग्रसरतामा संरक्षण र समृद्धिको सुनिश्चितता’ नाराका साथ आज विभागमा आयोजित समापन समारोहमा वन तथा भू–संरक्षण राज्यमन्त्री दीर्घराज भाटले वन जङ्गल नै सबै प्राणीको बाँच्ने आधार भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व हो भन्नुभयो ।

राज्यका ठूला पूर्वाधार निर्माण गर्नेदेखि विभिन्न सामाजिक संस्थाले संरचना बनाउँदा वन जङ्गलको क्षेत्रमाथि दबाब बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्र्दै राज्यमन्त्री भाटले भन्नुभयो – “जैविक विविधता संरक्षणका लागि सचेतनाका कार्यक्रम सहरमा मात्र नभई ग्रामीणस्तरसम्म पु¥याउनु आवश्यक छ ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले वन्यजन्तु संरक्षणका बारेमा विद्यालयस्तरदेखि नै सबैलाई सचेत गराउनुपर्ने बताउँदै संरक्षणका कार्यमा युवाको भूमिका अझ बढी महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

वन सचिव प्रकाश माथेमाले वन्यजन्तु संरक्षणका लागि सप्ताह व्यापी सचेतनामुखी कार्यक्रम प्रभावकारी देखिएको बताउँदै मन्त्रालयले स्थानीयस्तरमा जनतासँग मिलेर जैविक विविधता संरक्षणका कार्य गरिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा विभागका महानिर्देशक मनबहादुर खड्का, उपमहानिर्देशक शेरसिंह ठगुन्ना, जलाधार तथा भू–संरक्षण विभागका महानिर्देशक विजयराज पौडेल, नेपाल प्रकृति संरक्षण कोषका सदस्य सचिव डा गोविन्द गजुरेललगायतले सरकार र स्थानीय जनताको सक्रिय सहभागितामा हुने वन्यजन्तु संरक्षणका कार्यक्रम बढी प्रभावकारी हुने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्