लाउडाको छिनोफानो पूर्ण इजलासबाट



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले लाउडा विमान भाडा प्रकरणमा पूर्वमन्त्री तारिणीदत्त चटौतलाई सफाइ दिएको छ। सो प्रकरणमा संलग्न अन्यका हकमा भने मुद्दा पूर्णइजलासमा सुनुवाइ हुने भएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले बुधबार पुनः सुनुवाइ गर्नुपर्ने भएकाले पूर्णइजलासबाट सुनुवाइ हुने आदेश जारी गरेको हो। सो प्रकरणमा चटौतलाई सफाइ दिने प्रसंगमा दुवै न्यायाधीशको एक मत भए पनि संलग्न अन्यको हकमा भने राय बाझिएको थियो।

न्यायाधीश खतिवडाले विशेष अदालतले सो काण्डमा आरोपितलाई दिएको सफाइ उल्टाउनुपर्ने राय दिनुभएको छ भने न्यायाधीश घिमिरेले विशेषको फैसला सदर गर्नुपर्ने राय दिनुभएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६४ सालमा नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष हरिभक्त श्रेष्ठ, पर्यटनमन्त्री तारिणीदत्त चटौत, सञ्चालक समिति सदस्य तीर्थलाल श्रेष्ठ, सिद्धराज जोशी, गौरीनाथ शर्मा, मार्केटिङ निर्देशक रामराज उपाध्याय, अर्थ निर्देशक उपेन्द्र उपाध्याय र कर्पोरेट विभागका निर्देशक पुष्करप्रसाद वाग्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले लाउडा एयरका दुई अधिकारीलाई विपक्षी बनाएर उनीहरूसँग ३८ करोड ९७ लाख रुपियाँ बिगो माग दाबी गरेको थियो। यसअघि, विशेष अदालतले माग दाबी नपुग्ने भन्दै सबै आरोपितलाई सफाइ दिएको थियो। विशेषको पूर्णपाठ आएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्