एकैदिन दुई जनाले नयाँ जीवन पाए



नेपाल समाचारपत्र
काठमाडौं
पाल सरकारले मृगौलाको समस्यालाई डाइलोसिस गरेर खर्च बढाउनुभन्दा मृगौला प्रत्यारोपणमा प्राथमिकता दिँदै निःशुल्क मृगौला प्रत्यारोपण गर्ने निर्णय गरेलगत्तै मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरले आइतबार पहिलोपटक दुई जनाको निःशुल्क प्रत्यारोपण गरेको छ।

निःशुल्क मृगौला प्रत्यारोपण सेवा लिने पहिलो व्यक्ति पोखराका ३० वर्षीय दीपक गुरुङ रहेका छन्। गुरुङलाई उहाँकै ६० वर्षीय आमा सुनमाया गुरुङले मृगौला दान दिनुभएको हो। त्यसै गरी दोस्रोमा काठमाडांै नाग्लेभारेका बिरामी २६ वर्षीया लक्ष्मी ढकाललाई उहाँकै ४८ वर्षीया आमा चण्डिका ढकालले मृगौला दिनुभएको उपचारमा संलग्न अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।
सर्नेभन्दा नसर्ने रोगको प्रकोपसँगै उपचार खर्चको अभावमा धेरै मानिसले अकालमा ज्यान गुमाउन बाध्य भएको समस्यालाई ध्यानमा राखी स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष पहलमा निःशुल्क मृगौला प्रत्यारोपणको निर्णय भएको डा. श्रेष्ठले जानकारी गराउनुभयो। उहाँले मन्त्री थापाकै कारण आर्थिक अवस्था कमजोर भएका व्यक्तिले निःशुल्क मृगौला प्रत्यारोपण सेवा लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले यति महान् कार्यका लागि विशेष पहल गर्नुभएकोमा मन्त्री थापालाई विशेष धन्यवादसमेत दिनुभएको थियो।

मृगौला प्रत्यारोपणका लागि कस्ता व्यक्तिलाई आर्थिक विपन्न भन्ने र छनोट गर्ने भन्नेबारेमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन र व्यवस्थापन समिति सरकारले नै गठन गरेको छ। उक्त समितिमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकको संयोजकत्वमा मन्त्रालयले तोकेको नेफ्रोलोजिस्ट एक जना र अस्पताल प्रशासनको व्यक्ति एक जना रहने प्रावधान रहेको छ।

निःशुल्क उपचार गरिएका बिरामीको लागत नेपाल सरकारले व्यवस्था गर्नेछ। एक जना बिरामीलाई मृगौला प्रत्यारोपणका लागि ४ लाख खर्च लाग्छ भने प्रत्यारोपण गरेको ५ देखि ७ दिनभित्र अस्पतालबाट घर फर्काइन्छ। यसरी आर्थिक अवस्था कमजोर भएर मृगौला प्रत्यारोपण गराउन नसकी प्रत्यारोपणको पालो कुरेर बसेका बिरामीमध्ये एक जनाको सोमबार, २ जनाको बुधबार र १ जनाको बिहीबार प्रत्यारोपण गर्ने तयारी भएको पनि डा. श्रेष्ठले जानकारी गराउनुभयो।

उहाँले अब प्रत्येक हप्ता ६ जनाको मृगौला प्रत्यारोपण गरी आगामी एक वर्षभित्र १ सय ५० जनालाई नयाँ जीवन दिने अस्पतालको लक्ष्य रहेको बताउनुुभयो। वि.सं. २०७३ सालमा १ सय १६ जनाको मृगौला प्रत्यारोपण गर्नुका साथै १ जनाको कलेजो प्रत्यारोपण कार्य अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा गरिएको पनि डा. श्रेष्ठले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्