निर्वाचनमा सेना परिचालन हुन्छ ः गृहमन्त्री



नेपाल समाचारपत्र
बाँके
उपप्रधान एवं गृहमन्त्री विलमेन्द्र निधिले वैशाख ३१ गतेको स्थानीय निकाय निर्वाचनमा नेपाली सेना परिचालन हुने बताउनुभएको छ।

गृह मन्त्रालयले नेपालगन्जमा राखेको मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री निधिले सेना परिचालनका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको बताउनुभयो। ‘सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्, मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ। त्यो प्रक्रिया अघि बढेको छ’, गृहमन्त्री निधिले भन्नुभयो– ‘निर्वाचनलाई भयरहित, शान्तिपूर्ण बनाउन सरकारले चारवटै सुरक्षा निकायलाई राम्ररी परिचालन गर्छ।’

‘केही असन्तुष्टि, असहमति, प्रतिकूल अवस्था छ। त्यसको बावजुद निर्वाचन सम्पन्न गर्न लागि परेका छौं। हामीले निर्वाचन आयोगलाई विश्वास दिलाउनु छ’, गृहमन्त्री निधिको निर्देशन थियो– ‘संविधान नमान्ने, भूमिगत, राष्ट्रिय प्रणाली स्वीकार नगर्ने, अलग–अलग जिल्लाको अलग–अलग सुरक्षा चुनौती हुन सक्छन्। सबैलाई हेरेर सुरक्षा चुस्त दुरुस्त बनाउनूस्।’

उहाँले निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिका सुरक्षा योजना निर्माण गर्न सुरक्षा निकाय प्रमुखहरूलाई निर्देशन दिनुभयो। गृहमन्त्री निधिले मतदाता, उम्मेदवार, दल, निर्वाचन कर्मचारी र समाजको सुरक्षा प्रत्याभूत हुने गरी जिल्ला, क्षेत्रको सुरक्षा योजना बनाउन निर्देशन दिनुभयो।

नयाँ संरचनाअनुसार ७ सय ४४ स्थानीय तहमा पहिलोपटक निर्वाचन हुन गइरहेको छ। मध्यपश्चिममा १ सय २७ स्थानीय तह छन्। गृहमन्त्रालयले क्षेत्रगत सबै ठाउँमा सुरक्षा गोष्ठीको आयोजना गरेर सुरक्षा योजना निर्माण गरेको छ।

विराटनगर र धनगढीपछि नेपालगन्जमा आयोजित सुरक्षा गोष्ठीमा गृहसचिव लोकदर्शन रेग्मी, सहसचिव बालकृष्ण पन्थी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका दिलीप रेग्मीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्