गोरखामा ६ दलले चुनावमा भाग लिन नपाउने



सन्तोष अधिकारी,गोरखा

गोरखामा ६ वटा राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन नपाउने भएका छन्।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १६ मध्ये ६ दलले आउँदो चुनावमा भाग लिन नपाउने जिल्ला निर्वाचन अधिकारी राजेन्द्रप्रसाद पोखरेलले बताउनुभयो। संसद्मा प्रतिनिधित्व नगरेका दलहरूलाई चुनाव चिन्ह नदिने निर्वाचन ऐनमा उल्लेख भएअनुसार उनीहरूले दलीय हैसियतमा चुनावमा भाग लिन नपाउने भएका हुन्।
निर्वाचन कार्यालयमा दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि दलीय हैसियतमा चुनावमा भाग लिनबाट ती दल वञ्चित हुनुपरेको हो। जिल्ला निर्वाचन अधिकारी पोखरेलका अनुसार नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माले जनसमाजवादी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल गान्धीवादी पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा र पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीले निर्वाचनमा भाग लिन नपाउने भएका हुन्।
दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा १ लाख ६९ हजार ४६ जना मतदाता छन्। चुनावमा लागि २ सय १३ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनका लागि शिक्षक, कर्मचारी गरी २ हजार १ सय ५५ जना कर्मचारी खटाउने तयारी छ।

वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिने र वैशाख १२ भित्र सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्