मकवानपुरमा ५ सय ३० जनप्रतिनिधि छानिँदै



हेटौंडा, (नेस)
मकवानपुरमा स्थानीय तह चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। जिल्ला समन्वय समिति मकवानपुरको पुरानो भवनमा कार्यालय खुलेको हो।

कार्यालयको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत मकवानपुरका न्यायाधीश दयाराम ढकालले उद्घाटन गरे। समन्वय समितिको पुरानो भवनका पाँचवटा कोठालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयका रूपमा काम गर्ने गरी तयारी थालिएको छ। जिल्लामा निर्वाचन शान्तिपूर्ण ढंगबाट गर्न सबै तयारी थालिएको ढकालले बताए।

कार्यालय खुलेसँगै जिल्लाको ८ गाउँपालिका र १ नगरपालिकामा पनि वैशाख १२ गतेसम्म कार्यालय खोल्ने तयारी भएको उनले बताए। कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार लामा, गाउँपालिकाका निर्वाचन अधिकृतलगायतको सहभागिता थियो।

मुख्य निर्वाचन अधिकृतले जिल्लामा खटिएका निर्वाचन अधिकृतसँग समन्वय र सुपरीवेक्षणको काम गर्नुका साथै सदरमुकाममा रहेको स्थानीय निकायमा निर्वाचन अधिकृतका रूपमा पनि काम गर्नेछन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेपछि हरेक स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृत र निर्वाचन केन्द्रमा खटिने मतदान अधिकृतको समन्वय तथा कर्मचारीको परिचालन शुरू हुनेछ। आयोगले मुख्यसहित निर्वाचन अधिकृत र मतदान अधिकृत खटाइसकेको छ।

निर्वाचनबाट मकवानपुरका आठ गाउँपालिका, थाहा नगर र हेटौंडा उपमहानगरको क्रमशः अध्यक्ष, उपाध्यक्ष एवम् प्रमुख, उपप्रमुखसहित २० र वडा अध्यक्ष, वडा सदस्य गरी ५ सय १० जना गरी ५ सय ३० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

आठ गाउँपालिका, थाहा नगर र हेटौंडा उपमहानगरमा गरी दुई सय ९५ मतदान केन्द्र तोकिएको छ। निर्वाचन कार्यालयका अनुसार बाग्मती गाउँपालिकामा २३, बकैया गाउँपालिकामा २६, मकवानपुरगढी गाउँपालिकामा २०, मनहरी गाउँपालिकामा २३, राक्सिराङ गाउँपालिकामा २१, कैलाश गाउँपालिकामा १९, इन्द्रसरोवर गाउँपालिकामा १४ र भीमफेदी गाउँपालिकामा १९ वटा मतदान केन्द्र तोकिएका छन्।

थाहा नगरमा ३७ र हेटौंडा उपमहानगरमा ९३ मतदान केन्द्र तोकिएको छ। मकवानपुरमा मतदाता दुई लाख २७ हजार ७ सय ५९ छन्। आठ गाउँपालिकातर्पm १ लाख १६ हजार ४ सय ९५, थाहा नगरमा २७ हजार ६ सय ६७ र हेटौंडा उपमहानगरमा ८३ हजार ५ सय ९७ मतदाता रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्