पाँचखालमा प्रमुख बन्नयुवाहरु अग्रसर



मोतीराम तिमल्सिना,काभ्रेपलाञ्चोक

कृषि उपजका लागि केन्द्र मानिएको पाँचखाल नगरपालिकामा सरकारले बनाउने भनेको पेट्रोेल पम्पको भण्डारण, चीनले ल्याउने भनेको रेल, सेजको निर्माणजस्ता महत्वपूर्ण योजनाबाट जिल्लाको सबैभन्दा शक्तिशाली नगरपालिका बन्ने भएको छ पाँचखाल।

औद्योगिक तथा कृषि उत्पादनका हिसाबले समेत महत्वपूर्ण मानिएको पाँचखाल नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनका लागि अधिकांश पार्टीबाट युवाको चासो देखिएको छ। साविकका गाविस मिलेर बनेको नगरपालिका र पुनः दुई गाविस थपिएको पाँचखालमा एमालेको वर्चश्व छ।

२०५४ सालको स्थानीय निर्वाचनमा अधिकांश गाविस र वडामा समेत एमालेले बहुमत प्राप्त गरेको उक्त क्षेत्रमा योपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र प्रमुख प्रतिस्पर्धी पार्टीका रूपमा रहेका छन्। मधेसवादी पार्टी तथा नेकपा माले, नयाँ शक्ति र अन्य केही पार्टीले समेत पाँचखाल नगरपालिकामा हुने निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। वैशाख १६ गतेभित्र अधिकांश दलले नगरपालिकामा हुने निर्वाचनका लागि उम्मेदवार तय गर्न तयारी गरेका छन्।


नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा समेत उम्मेदवारहरू धेरै भएकाले मिलाउन हम्मेहम्मे परेको छ। सत्ताको ठूलो दल नेपाली कांग्रेसमा पूर्वक्षेत्रीय सभापति सुन्दरमणि आचार्यले टिकट पाउने निश्चित भए पनि वर्तमान क्षेत्रीय सभापति महेश खरेल, पार्टी सभापति गणेश अधिकारी र अन्य केही युवाले दाबी गरिरहेका छन्। तरुण दलको निर्वाचनमा समेत खुकुरी हानाहान भएर अधिवेशन स्थगित गरी सार्वजनिक मुद्दामा पुगेका कांग्रेसका नेताले यो निर्वाचनमा विजयी प्राप्त गर्न स्थानीय स्तरमा कतै विवादमा नमुछिएका व्यक्तिलाई टिकट दिनुपर्ने बताए पनि सम्भव नभएको एक नेताले बताए।

खरेल पूर्वमन्त्री राजेन्द्र खरेलका छोरा हुन्। उनले पनि आकांक्षा गरेका छन्। तर संस्थापनले सुन्दरमणि आचार्यलाई टिकट दिने तयारी गरेको छ। अहिलेका पार्टी सभापति मधुप्रसाद आचार्यलाई पार्टीले कारबाही गरेका बेला उनै खरेललगायतको समूहले काखी च्यापेको थियो। आचार्य सभापति भएपछि खरेलसँग निकट छैनन्।
नेकपा एमालेमा पनि टिकट लिनका लागि युवा र पाका पुस्ताबीच रस्साकस्सी परेको छ। पूर्वअध्यक्षसमेत रहेका रुद्रबहादुर बानिया र मोर्चा संगठनका प्रमुख कञ्चन अधिकारीबीच को प्रमुख पदमा उम्मेदवारी दिने भन्ने तय गर्न नसक्दा प्रचारात्मक रूपले अभियानमा लाग्न नपाएको उम्मेदवारहरूले व्यक्त गरेका छन्। केही कार्यकर्ता युवा नेता अधिकारीको पक्षमा छन् भने केही नेता एकपटकलाई बानियालाई जिम्मेवारी दिएर अर्काे पटकलाई अधिकारीलाई तयार गर्नुपर्ने बताउन थालेका छन्। अन्य केही आकांक्षी भने अधिकारी र बानियाको अगाडि साइड लागेका छन्। दुवैले टिकटका लागि तीव्र लबिङ गरिरहेको स्रोतले बतायो।

नेकपा माअ‍ोवादी केन्द्रले हरि दुलाललाई प्रमुख पदमा उठाउने तयारी गरे पनि राजकुमार श्रेष्ठले दाबी छाडेका छैनन्। तर पनि केन्द्रले दुलाललाई नै प्रमुखको उम्मेदवार बनाउने निश्चित छ। पार्टी फुटाएर संविधानसभा निर्वाचन २०७० बहिष्कार गरेको वैद्य माओवादीको एक समूह पुरानै पार्टीमा फर्किएपछि २०६४ मा सांसद बनेका तेजबहादुर मिजारसमेत दुलाललाई बोकेर हिँडिरहेका छन्। पाँचखालमा मुख्य गरी यी तिनवटै पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित छ।
पाँचखाल नगरपालिकालाई जिल्लाको चौथो नगरपालिकाको रूपमा लिइएको छ। ३७ हजार ९ सय ९७ जनसंख्या भएको नगरपालिकामा साविक पाँचखाल, कोशिदेखा र खरेलथोक गाविस समावेश गरिएको छ। १३ वडा कायम गरिएको पाँचखालको क्षेत्रफल १०३ वर्ग किमि रहेको छ। पाँचखाल नगरपालिकाको कार्यालय साविक पाँचखाल नगरपालिकाको कार्यालयलाई तोकिएको छ।

सीमाना पूर्वमा भुम्लु गाउँपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर र भुम्लु गाउँपालिकाले छोएको छ भने दक्षिणमा तेमाल गाउँपालिका र धुलिखेल नगरपालिकासँग जोडिएको छ। नगरपालिकाको वडा नम्बर १ मा साविक पाँचखाल नगरपालिकाका १२ र १३ वडा गाभिएका छन् भने वडा नम्बर २ मा साविकका १४ र १५ नम्बर वडालाई मिलाइएको छ।

वडा नम्बर ३ मा साविकको वडा नम्बर २, वडा नम्बर ४ मा साविकको वडा नम्बर ३, वडा नम्बर ५ मा साविकको वडा नम्बर १ मिलाइएको छ। त्यस्तै वडा नम्बर ६ मा साविक पाँचखाल नगरपालिकाको ४ र ५, वडा नम्बर ७ मा साविकको वडा नम्बर ६, वडा नम्बर ८ मा साविकको वडा नम्बर ७ र ८, वडा नम्बर ९ मा साविकको वडा नम्बर १६ र १७, वडा नम्बर ११ मा खरेलथोक गाविस सबै, वडा नम्बर १२ मा पाँचखालको साविक ९ र १०, र वडा नम्बर १३ मा कोशिदेखा गाविसको सबै वडाहरू समावेश गरिएको छ।
पाँचखाल उपत्यका कृषिका लागि उर्वर मात्रै नभई राजधानीमा खपत हुने तरकारीको २५ प्रतिशत भाग ओगट्न सफल क्षेत्र हो। औद्योगिक क्षेत्र स्थापनाका लागि एमाले सांसद कृष्णप्रसाद सापकोटाले शुरू गरेको अयिभान अझै जारी छ।

जग्गा व्यवस्थापनको काम सकिए पनि अरू नीतिगत तयारी भइरहेको छ। साविक अनेकोट, देवभूमि बालुवा, पाँचखाल, होक्से, साठीघर भगवती गाविस समावेश गरी बनेको पाँचखाल नगरपालिकाले तामाघाट बजारमा आफ्नै भवन निर्माण गरिरहेको छ। नयाँ संरचनाअनुसारको पाँचखाल नगरपालिकामा २३ हजार ९ सय २९ मतदाता कायम भएका छन्।

प्रतिक्रिया दिनुहोस्