‘तटस्थता र आत्मविश्वासमा स्थानीय निर्वाचन’



मोतीराम तिमल्सिना काभ्रे
स्थानीय तहको निर्वाचनका लागि सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख जिल्ला अधिकारी शिव सिंखडा र मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालले शुभारम्भ गरेका छन्।

कार्यालयको उद्घाटनसँगै मुख्य निर्वाचन अधिकृत पौड्याल र प्रजिअ सिंखडाले जिल्लामा रहेका १३ स्थानीय तहका निर्वाचन अधिकृत र कार्यालय प्रमुखहरूलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका थिए।

मुख्य निर्वाचन अधिकृत पौड्यालले निर्वाचन अधिकृतहरूलाई आत्मविश्वासका साथ कार्यस्थलमा खटिन, कुनै चिन्ता तथा असुरक्षाको महसुस नगर्न र तटस्थतालाई कायम राख्न निर्देशन दिनुभएकोथियो। ‘निर्वाचन सम्बन्धी कुनै अन्योलता कायम नराखी कार्यस्थलमा खटिन र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराइ प्रमाणपत्र वितरण गरिसकेपछि मात्रै फर्कन निर्देशन दिन्छु’, मुख्य निर्वाचन अधिकृत पौड्यालले भन्नुभयो– ‘आत्मविश्वासका साथ तटस्थता कायम राखी निडरताका साथ निर्वाचन सम्पन्न गरेर फर्कनुहोस्।’ निर्वाचनका बारेमा कुनै अन्योलता भएमा वा प्रकृयाका बारेमा अस्पष्टता भएमा सम्पर्कमा रहनसमेत अनुरोध गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले असुरक्षाको महसुस नगरी सुरक्षित ढंगबाट मतदान सम्पन्न गराउन आवश्यक पर्ने सुरक्षाको ब्यवस्था मिलाइएकाले मतदाताहरूलाई समेत सुरक्षित भएको महसुस गराउन निर्देशन दिनुभएको थियो। ‘तपाईंकै कारण निर्वाचनमा त्रास र असुरक्षा नफैलोस’–प्रजिअ सिंखडाले भन्नुभयो– ‘शान्ति सुरक्षाको कमि हुन नदिन भएका प्रयासलाई सहयोग गर्दै कार्यस्थलमा खटिन र मतदाता र मतदान स्थलवरपर सुरक्षा कायम राख्न सहयोग गर्नुस।’ वैशाख १२ गते सबै जिल्लाका स्थानीय तहहरूमा मतदान केन्द्र खुलाउने आयोगको कार्यतालिकामा छ।वैशाख १६ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम भएकाले त्यस अगावै कर्मचारीहरूलाई खटाउने गरी आयोगले सबै जिल्लाका स्थानीय तहमा निर्वाचन कार्यालय खोली काम शुरू गर्न प्रजिअ शिंखडाले निर्देशन दिनुभएको छ।

१३ तह रहेको काभ्रेपलाञ्चोकका कोशिपारीका दुई तह भुम्लु र चौरी देउरालीमा अझै कार्यकारी अधिकृत गएका छैनन् भने डाँडापारीको खानीखोला गाउँपालिकामा पनि अझै केन्द्र खुल्न सकेको छैन।

निर्वाचन आयोगले जिल्लाको धुलिखेल नगरपालिकामा मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौड्याललाई जिम्मेवारी दिएको छ भने बनेपामा कार्यकारी अधिकृत कमला गिरी भारती, पनौतीमा दुर्गादेवी देवकोटा, खानीखोला गाउँपालिकामा हरिप्रसाद फुँयाल, चौरी देउराली गाउँपालिकामा दलबहादुर अधिकारी, तेमाला गाउँपालिकामा गोविन्दराज गौली, बेथान्चोक गाउँपालिकामा महेश बराल, भुम्लु गाउँपालिकामा लक्ष्मीदेवी हुमागाईं, रोशी गाउँपालिकामा गणेश आचार्य, महाभारत गाउँपालिकामा तिलकबहादुर कार्की, मण्डनदेउपुर नगरपालिकामा सिर्जना तिवारी, नमोबुद्ध नगरपालिकामा भोलाप्रसाद चापागाईं र पाँचखाल नगरपालिकामा विष्णुकुमारी भट्टराई निर्वाचन अधिकृत नियुक्ति भएका छन्। मुख्य निर्वाचन अधिकृत पौड्यालले सबै निर्वाचन अधिकृतहरूलाई १२ गते भन्दा अगावै आफ्नो कार्यक्षेत्रमा पुगी बस्तुस्थिति बुझ्न निर्देशन दिनुभएको छ।

जिल्लामा चारवटा निर्वाचन क्षेत्रअन्र्तगत २०७० सालको संविधान सभाको निर्वाचनमा १ सय ८५ मतदान स्थलमा ३ सय २५ मतदान केन्द्र कायम थिए भने हाल १ सय ८९ मतदान स्थलमा ३ सय ७ मतदान केन्द्र कायम भएका छन्। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौड्याल, जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेललगायतले स्थानीय तहको निर्वाचनका सन्र्दभमा आवश्यक पर्ने सबै खालका सहयोगका लागि कार्यालय प्रमुखहरूलाई अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्