नववर्षको उत्साह स्थिर रहला त ?



सुशील देवकोटा

देश अर्को एउटा नयाँ वर्षमा प्रवेश गरेको छ। नयाँ वर्षको प्रारम्भसँगै शुभकामना आदान–प्रदानको लर्को लागेको छ। यो क्तमले थप केही समय निरन्तरता पाउनेछ। तर जनता जुन उत्साहका साथ शुभकामना साटासाट गर्दै छन्, त्यो उत्साह कतिसम्म स्थायी होला ? आगामी दिनहरुले नै बताउलान्। बितेका वर्षहरुमा र भर्खरै बितेको वर्षमा समेत के–कस्ता जाली र झेली काम हाम्रो देशका नेताहरुबाट भए ? त्यो लेख्न थाल्ने हो भने एउटा गतिलो पुस्तक नै तयार गर्नुपर्ने हुन्छ। नयाँ वर्षको आगमनले जनताको ओठमा दिएको यो मुस्कान चाँडै अलप हुन्छ भनेर ठोकुवा गर्न निम्नलिखित केही प्रतिनिधि घटनाहरु नै पर्याप्त हुन्छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल प्रहरीमा नयाँ आईजीपीको नियुक्ति गरियो र अन्ततः देशको प्रहरी प्रशासनले आफ्नो मुखिया पायो। हुन त यो नियुक्ति पनि विवादरहित हुन सकेन। नवराज सिलवालले अदालतमा पेःरि रिट दायर गरेकाले यो नियुक्ति पनि विवादमा तानिएको छ। अब अदालतले के भन्छ र गर्छ ? त्यो हेर्न बाँकी नै छ तर यो आईजीपी नियुक्तिलाई लिएर जे–जति नाटक सार्वजनिक भए, त्यसले नेपाल प्रहरीको साखमा कति गहिरो असर गर्यो, त्यसको लेखाजोखा गरिएको छ ? कार्यसम्पादन मूल्यांकन र रोलक्रमअनुसार जसले त्यो पद पाउनुपर्ने थियो उसलाई निर्विवादरुपमा किन हाम्रा नेताहरुले त्यो पद दिएनन् ? कुन स्वार्थले गर्दा ? यो प्रश्नको उत्तर कमसेकम नेपाल प्रहरीले चाहिँ पाउनै पर्छ, ताकि उनीहरुलाई यो स्पष्ट होस् कि आगामी दिनमा आईजीपी बन्न चाहनेले आफ्नो कार्यसम्पादन कुशलतापूर्वक गर्नुपर्ने हो कि नेताहरुको चाकडी राम्रोसँग गर्नुपर्ने हो ? त्यसै पनि केही प्रहरीहरुको अराजक आचरणले गर्दा नेपालमा नेपाल प्रहरीको छवि त्यति राम्रो छैन, झन् त्यसमा पनि त्यस निकायमा राजनीति घुसाई दिएपछि त्यो निकायले कतिको तटस्थ, अनुशासित र इमानदार भएर काम गर्ला ? अनुमान गर्न धेरै गाह्रो पर्दैन।

पुरानो वर्षको अन्तिम महिनामा नयाँ शक्ति पार्टीको महिला नेतृ हिसिला यामीले ‘यो देश खारेज गर’ भन्दै सार्वजनिकरुपमा चर्को नारा लगाइन। हुन त पछि उनले मेरो आशय त्यो थिएन, मैले अध्यादेश भन्न खोजेकी थिएँ तर अत्यधिक उत्तेजित भएको त्यो अवस्थामा अध्यादेशको स्थानमा देश भनेको मैले थाहा नै पाइनँ पनि भनिन् र माफीसमेत मागिन्। हो, हाड नभएको जिब्रो हो, बोल्दा कहिलेकाहीँ लटपटिन्छ। उनी सामान्य मान्छे भएकी भए यो कुराको कतै चर्चासमेत हुँदैनथ्यो होला। तर हिसिला यमी त महिला भएर पनि क्तूर तालले १७ हजार निर्दोष नेपालीको ज्यान लिने नेता हुन्। देशको मन्त्री भैसकेकी छिन्। उनले एउटा सामान्य मानिसले जसरी जिब्रो चिप्लिएछ, माफ पाऊँ भन्दैमा जनताको मन पखालिएला ?

देशको वर्तमान प्रधानमन्त्रीबाट देश विकासको कुरासम्म सुन्न पाइँदैन। आफू प्रधानमन्त्री हुनेबित्तिकै उनले सहमतिको राग गाउन थालेका थिए, जुन अझै गाउँदै छन्। मधेसी मोर्चासँग जति नै वार्ता गरे पनि उनले सहमति जुटाउन सकेका छैनन्। उनको यस असफलताले उनको आफ्नो मात्रै ऊर्जा र समय बरबाद भैरहेको छैन, देशको अगाडि बढ्ने समयसमेत बरबाद भैरहेको छ।

संघीयताको नाममा देशको विभाजनमा भागवण्डा नमिल्दा देशको अस्तित्वमाथि नै प्रश्नचिह्न तेर्सिसकेको छ। तर कतैबाट हेर्दा पनि यो लाग्दैन कि हाम्रो प्रधानमन्त्रीलाई देशको यो अवस्था भएकोमा कुनै चिन्ता छ। देशमा अराजक समूह सक्रिय छन्। शान्ति सुरक्षाको स्थिति नाजुक। यसको ज्वलन्त उदाहरण हो सीमित सम्पत्ति विवरण सार्वजनिक गरेर आफूलाई गरिब प्रधानमन्त्री घोषणा गरेका प्रचण्ड–पुत्रले सुरक्षाको कारणले हतियार खरिद गर्नु। जुन देशमा आफ्नै बुबा प्रधानमन्त्री हुँदासमेत छोराले स्वयं असुरक्षित महसुस गर्छ भने जनताले आफूलाई कसरी सुरक्षित महसुस गर्ने ?

कमल थापा र राप्रपाको नाटक पनि जनताले देख्न पाए बितेको वर्षमा। निर्वाचन आयोगले राप्रपाको विधान सच्याउने जुन निर्णय गर्यो, त्यसको विरोधमा कमल थापा सडकमा विरोध गर्न पुगे। वास्तवमा त्यो घटना गतवर्षकै एउटा राम्रो ठट्यौली थियो। यसबारेमा यति मात्रै भन्दा नै पर्याप्त होला कि कमल थापा अहिले हाम्रो देशको संघीय मन्त्रालय हेर्ने उपप्रधानमन्त्री हुन्। सत्ताका लोभी यी कमल थापा र विमलेन्द्र निधीमा को ठूलो भन्ने झगडा अर्को रोचक विषय बन्यो गतवर्षको अन्तिम समयतिर। त्यो झगडाले जनतालाई यो झन् स्पष्टरुपमा बुझायो कि न यी नेताहरुलाई देश र जनताको कुनै माया छ, न त कुनै जिम्मेवारीबोध नै छ ? यिनीहरुलाई पद चाहिएको छ, कुर्सी चाहिएको छ र त्यो पनि ठूलो।

लगभग २० वर्षपछि स्थानीय निकायको चुनाव गरिने घोषणा गरिएको छ। यो घोषणापछि आफूलाई राष्ट्रवादी भन्ने एमालेको आन्तरिक कलह छताछुल्ल भएर सतहमा पोखिएको छ। देशको वर्तमान अवस्थाको माग भनेको सबै राजनीतिक दलले आफ्ना झीना–मसिना मागहरुलाई थाती राखेर पहिला देशलाई गति दिनु हो। नेपाल असफल राष्ट्रमा परिणत हुने लगभग सम्पूर्ण अवस्था देख्दादेख्दै पनि अरु पार्टीसँग समेत मिलेर जाने त कुरै छोडौं, आपसमा पनि मिल्न सकेका छैनन् आफूलाई राष्ट्रवादी भन्ने दलका नेताहरु।

यी केही यस्ता घटनाहरु हुन्, जसले गर्दा देशमा राजनीतिक स्थिरता हुन सकेको छैन। जबसम्म देशमा राजनीतिक अस्थिरता रहन्छ, नेताहरुमा देश र जनताप्रति जिम्मेवारीबोध आउँदैन, तबसम्म जनताले सुख पाउँदैनन्। यो अवस्था कायम रहेसम्म नयाँ वर्ष फगत थप एउटा अर्को वर्ष मात्रै हुनेछ। र, जनताको घरको क्यालेन्डर त फेरिनेछ तर अवस्था फेरिनेछैन। शायद त्यसैले होला २०७४ साल भनेर पढ्दा मनमा लाग्छ– हिसिला यमी चिप्ले जसरी चिप्लेर यो ७४ साल बदलिई ४७ साल भैदिए पनि हुने नि !

प्रतिक्रिया दिनुहोस्