रेग्मी भन्छन्ः पछि पछुताउनुको कुनै अर्थ छैन



नेपाल समाचारपत्र
काठमाडौं
चुनावी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले घोषित स्थानीय तहको निर्वाचनको वातावरण र माहोल तात्न नसकेको भन्दै घोषित मितिमा निर्वाचन हुन सकेन भने संशय र अनिश्चयले ठाउँ पाउने बताउँदै हिमाल, पहाड र तराई–मधेसमा स्थानीय निर्वाचनप्रतिको जनताको उत्सुकतालाई अनुकूल वातावरण बनाउन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ।

२०७४ साल माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन हुनु संवैधानिक अनिवार्यता भएको बताउँदै उहाँले संविधान जारी गर्न एकजुट भएका दलहरू संविधान कार्यान्वयनका लागि पनि एकजुट हुँदै र विमतिका बुँदाहरू साँघुरो बनाउदै असन्तुष्ट पक्षहरूलाई समेट्न गम्भीररूपले लाग्न जरुरी रहेको औंल्याउनुभएको छ।

‘असन्तुष्ट पक्षहरूले पनि मूल प्रवाहवाट टाढिनतिर होइन मिलनबिन्दु खोज्नतिर लचकताका साथ प्रस्तुत हुन जरुरी छ’, रेग्मी भन्नुहुन्छ– ‘यो सबैको हितमा हुनेछ।’ सबै दलहरूले जनता र उनका भावनाकै प्रतिनिधित्व गर्ने हो भन्दै उहाँले यसलाई निजी स्वार्थको विषय बनाउन नहुने पनि बताउनुभएको छ।

नयाँ वर्ष २०७४ को शुभकामना दिने क्तममा अन्तरिम चुनावी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले जन चाहना र भावनाको समुचित सम्मान र कदर गर्दै अघि बढ्न इमान्दार प्रयास गर्यौं र त्यसका लागि सार्थक छलफल गर्यौं भने मात्रै हामी सही निष्कर्षमा पुग्न सकिने बताउनुभएको छ।

‘नत्र हामीलाई समयले पर्खंदैन। समस्यालाई पोल्टामा लिएर पछुताउनुको कुनै अर्थ हुने छैन’, उहाँले भन्नुभएको छ– ‘आजको हाम्रो आवश्यकता भनेको स्थायित्व र सम्मृद्धि नै हो।’

समाजलाई दिशानिर्देश गरी देशलाई अग्रगमनतर्फ उन्मुख गराउने मूल नीति नै राजनीति हो’, रेग्मीले भन्नुभयो– ‘जबसम्म राजनीतिले स्थायित्व लिँदैन तबसम्म देशको सम्मृद्धिको सपना अधुरो नै हुन्छ। संविधान र राजनीतिलाई स्थायित्व दिँदै देशको समृद्धिको आधार तयार गर्ने दस्तावेज भएकाले लामो प्रतीक्षा र संघर्षपछि संविधानसभाले निर्माण गरेको संविधानको कार्यान्वयन आजको महत््त््वपूर्ण आवश्यकता बनेको उहाँको भनाइ थियो।

संविधान जारी गर्दैगर्दा देखिकै असन्तुष्ट पक्षहरूको आन्दोलन र असहमतिले वस्तुतः विश्राम पाउन सकेको छैन। तदनुकूलको वातावरण बन्न सकेको छैन। राजनीतिक विभाजन र फरक धारणाले ध्रुवीकृत बनाउँदै लगेको छ। रेग्मीले भन्नुभएको छ– ‘जो संविधानको कार्यान्वयनको शुभ संकेत होइन।’

स्थानीय तहको निर्वाचनको मिति तोकियो र अब एक महिनाको समय मात्र बाँकी छ। अझै संविधान संशोधन किन गर्ने र कसरी गर्ने भन्ने कुरामै राज्य पक्षसमेत अलमलमै छ, प्रतिपक्ष र असन्तुष्ट पक्षका बीचको मत–मतान्तर भइरहेको भन्दै उहाँले चिन्ता पनि व्यत्तः गर्नुभएको छ।
सबै नेपाली नागरिकले सुखद् भविष्य प्राप्तिका लागि विगत लामो समयदेखि व्यत्तः गरेको चाहनालाई साकार तुल्याउन तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन भई २०७४ साल नेपाली इतिहासमा नेपाल र नेपालीका माझमा चिरस्मरणीयरूपमा जीवन्त रहन सकोस् भन्ने आफूले अपेक्षा गरेको भन्दै उहाँले सबै मिलेर निर्वाचनमा अघि बढ्न आग्रह पनि गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्