कपिलवस्तुका अग्नीपीडितको पीडा छोरीको विवाह गर्ने तयारीमा रहेका तीन परिवारको बिजोग



सीताराम चौधरी, चन्द्रौटा
आगलागीबाट सर्वस्व गुमाएका कपिलवस्तुको शिवराज नगरपालिका–१०, सितलापुरका अग्नीपीडित यतिबेला विचल्लीमा परेका छन्। आगलागीले उनीहरूको बासस्थान नै खरानीमा परिणत भएको छ। वर्षभरिलाई थन्क्याएर राखेको अन्नपात सबै जलेर नष्ट भएको छ। जिउमा लगाएको एकसरोबाहेक घरभित्रको सम्पूर्ण सम्पत्ति नष्ट भएको छ।

त्यहाँका तीन परिवारको त झनै बिजोग बनेको छ। छोरीको विवाहको तयारीमा रहेका तीन जना अग्नीपीडित परिवारले छोरीको विवाह कसरी गर्ने भन्ने चिन्तामा छन्। नन्हे रैदासले एक सातापछि वैशाख ६ गते छोरीको विवाहको तयारी गर्नुभएको थियो। ‘आगोले सर्वस्व लुट्यो, अब के गर्ने, बहिनीको विवाह कसरी सकाउने भन्ने पिरलोले सताएको छ।’–दाजु पुजारी रैदासले चिन्ता व्यत्तः गर्नुभयो।
रैदास परिवारजस्तै मन्नु पासी र मन्नान मियालाई पनि छोरीको विवाहका लागि जुटाएको सामान सबै आगोले छिनेपछि चिन्तित बनेका छन्। छोरीको विवाहका लागि सहयोग गरिदिन उनीहरूले प्रशासन तथा संघसंस्थासँग हारगुहार मागेका छन्।

बुधबार बिहान साढे ११ बजे हावाहुरीसँगै मन्नान मियाको घरबाट सल्किएको आगोले सितलापुरबासीलाई रुवाउनु रुवायो। आगोले सितलापुरको दक्षिणी टोलको ५९ घरगोठ जले पनि वास्तविक ३५ घरपरिवार रहेको प्रशासनले अन्तिम डाटा निकालेको छ।

प्रशासनको प्रारम्भिक तथ्यांकअनुसार ५० लाख बढीको क्षति भएको बताइएको छ। आगलागीबाट स्कूले बालबालिकाहरूको सम्पूर्ण किताब, कापी, विद्यालय पोशाकसमेत जलेर नष्ट भएको बताइएको छ। २ सय बढी घरधुरी रहेको उत्तः बस्तीमा बीस वर्षअघि पनि आगलागी हुँदा पूरै बस्ती नै सखाप भएको थियो भने बीस वर्षपछि पुनः आगलागी हुँदा ३५ घरपरिवारको ५९ घरगोठ जलेर नष्ट भएको छ।

विभिन्न संघसंस्थाद्वारा अग्नीपीडितलाई राहत
कपिलवस्तुको शिवराज नगरपालिका–१०, सितलापुरका अग्नीपीडितलाई विभिन्न संघसंस्थाले राहत वितरण गरेका छन्।

तत्कालीन अवस्थामा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले ४० परिवारलाई जनही ५ हजारका दरले नगद रकम हस्तान्तरण गर्नुभएको थियो।

आगलागीकै दिन बुधबार साँझ समाजसेवी तथा फफुरी बोर्डिङ स्कूलका डाइरेक्टर फरहान इकबाल खान, समाजसेवी विजय जयसवाल, मेहताव आलम खान, सहेनसा आलम खानउर्फ बब्बुले संयुत्तः रूपमा ४२ परिवारलाई राहत सामग्री वितरण गरेका थिए। प्रति परिवारलाई १० किलो चामल, १ लिटर तेल, २ किलो नुन, १ किलो दाल र मसलाका प्याकेट वितरण गरिएको बताइएको छ।

विहीबार दिउँसो चन्द्रौटाका समाजसेवी एवं लोकप्रिय ब्राण्डका सञ्चालक जमशेर अलि मियाले खाद्यान्न वितरण गर्नुभयो। इलाका प्रशासन कार्यालय, चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्र भट्टराई, नेपाली कांग्रेसका कार्यबाहक सभापति अब्दुल कलाम खाँ, हाजी सब्बीर पठान, हार्डवेयर व्यवसायी संघका अध्यक्ष मकबूल खानलगायतको रोहबरमा मियाले राहत वितरण गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्