मुख्य निर्वाचन अधिकृतको कार्यालय वैशाख ३ बाट



काठमाडौं, (नेस)
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा वैशाख ३ गतेदेखि स्थानीय तह निर्वाचनका लागि काठमाडौं जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुने भएको छ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेल, क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख चन्द्रप्रसाद गौत्तम, महानगरीय प्रहरी परिसरका प्रमुख छविलाल जोशीलगायतको टोलीले बुधबार राष्ट्रिय सभागृहको स्थलगत भ्रमण अवलोकन गरी कार्यालय सञ्चालन निक्र्यौल गरेको हो।

राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहनेछ भने काठमाडौं जिल्लाका अन्य १० वटा नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय रहनेछ। काठमाडौंका नगर क्षत्रेमा निर्वाचन सञ्चालनका लागि आवश्यक पर्ने सामग्री तथा जनशक्ति व्यवस्थापनका काम यसै कार्यालयबाट हुनेछ।

निर्वाचन समाप्त भइसकेपछि काठमाडौं महानगरपालिका क्षेत्रका मतपेटीका यसै स्थानमा संकलन हुनेछन् भने अन्य नगरपालिकाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइनेछन्।

मतगणना भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट महानगरको र निर्वाचन अधिकृतको कार्यालयबाट नगरपालिकाहरूको मत गणना गरिनेछ।
काठमाडौं जिल्लामा करिव ५ लाख ५७ हजार मतदाता छन् भने काठमाडौं महानगरपालिका क्षेत्रमा २ लाख ८४ हजार हाराहारीमा छन्। मतदाता नामावली प्रकाशनमा नआइसकेकोले यसको एकिन अंक भने आउन बाँकी छ। काठमाडौं जिल्लामा भएका ३ सय १९ मतदानस्थलमध्ये महानगरमा १ सय ५६ वटा छन् भने ७ सय ५४ मतदान केन्द्रमध्ये १ सय ७८ वटा केन्द्र महानगरमा छन्।

प्रतिक्रिया दिनुहोस्