नेपाल समाचारपत्रकर्मी महर्जन पुरस्कृत



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जन पहिलो लहना–मोहिनी पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।

नेपाली समाजको बनोट र स्वरूपअनुरूप राज्यको संरचनामा विविधताको तस्वीर प्रतिविम्बित हुने गरी संघीय संरचना, समावेशी र हक अधिकारका विविध सवालमा पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै सो पुरस्कार प्रदान गरिएको हो।

नेपाल भाषाको साप्ताहिक लहना तीन वर्ष पूरा भई चौथो वर्ष प्रवेश गरेको अवसरमा मंगलबार आयोजित एक समारोहका बीच सो पुरस्कार प्रदान गरिएको हो। सो अवसरमा जनकवि दुर्गालाल श्रेष्ठले पुरस्कारको प्रमाणपत्र, शैक्षिक व्यक्तित्व राजु महर्जनले खादा ओढाइ र पुरस्कारका दाता श्रीमती मोहिनी श्रेष्ठले नगद राशि १० हजार रूपियाँ सहायक सम्पादक महर्जनलाई प्रदान गर्नुभयो। जातीय अधिकारकर्मी एवं बुद्धिजीवी डा. महेशमान श्रेष्ठले आफ्नै श्रीमती मोहिनी श्रेष्ठको नाउँमा यस वर्ष सो पुरस्कार स्थापना गर्नुभएको हो।

सोही समारोहमा १० हजार रूपियाँ नगद राशि रहेको लहना–धर्म मोति पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक राजु शाक्य, १० हजार रूपियाँ नगद राशि रहेको लहना– सुर सम्मान वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई प्रदान गरिएको थियो। सो पुरस्कारका दाताहरू क्रमशः उद्यमी लक्ष्मण गमाल र सुरबहादुर श्रेष्ठ रहनुभएको छ। त्यसै गरी लहना पञ्चवीर सिहं पुरस्कार प्रो माणिकलाल श्रेष्ठलाई प्रदान गरियो। पञ्चवीरसिहं तुलाधरद्वारा स्थापित सो पुरस्कारको नगद राशि २० हजार २ सय २२ रहेको छ।
सो अवसरमा जनकवि दुर्गालाल श्रेष्ठले जातीय समानता र सामाजिक न्यायको संघर्षमा सबैभन्दा बाधक भनेको पिछडिएका वर्ग र समुदायमा व्याप्त रहेको दास मनोवृत्ति रहेको धारणा राख्नुभयो। जातीय अधिकार, भार्षिक समानता र सांस्कृतिक अधिकार प्राप्तिको लडाइँमा लागि सबैभन्दा ठूलो हतियार भनेको जातीय गौरव र स्वाभिमान रहेको उल्लेख गर्दै स्वाभिमान रहेसम्म कसैले कसैलाई पनि सहजतापूर्वक दमन गर्न नसकिने बताउँदै जनकवि श्रेष्ठले स्वाभिमानी बन्न आग्रह गर्नुभयो।

सो अवसरमा लहना साप्ताहिकका प्रकाशक नृपेन्द्रलाल श्रेष्ठ, सम्पादक जुजुमान महर्जन र व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले मातृभाषाको पत्रकारिता विकास र विस्तारको गर्ने उद्देश्य लहना साप्ताहिकले लिएको बताउँदै मातृभाषाको पत्रकारिता व्यावसायिक बनाउनुपर्ने खाँचो रहेकोमा केन्द्रीत गर्दै आ–आफ्नो धारणा राख्नुभयो। कार्यक्रमपछि विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्