२०७३ मा नेपाली खेलकुद



अन्य क्षेत्रले जस्तै नेपाली खेलजगत्ले पनि वर्ष २०७४ लाई स्वागत गर्दै छ। गत वर्षहरुमा झैं २०७३ सालमा पनि अनगिन्ती प्रतियोगिताहरु सम्पन्न भए। जसमध्ये सातौं राष्ट्रिय खेलकुद र ओलम्पिक मुख्य रह्यो।

छोटो तयारी र भौतिक पूर्वाधारको समस्याका बाबजुद देशभरका खेलाडीले बडो उत्साह र गौरवका साथ सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए, जहाँ त्रुटिहरु पनि देखापर्यो। केहीमा खेलाडीहरु अनुशासनहीन बने भने कतै खेलस्थलको अपुरो अवस्थादेखि बासस्थान र व्यवस्थापनमा समेत त्रुटिहरु देखिए। तर खेलाडीहरुको दैनिक भत्ता बढ्नु र खेलाडीकै हातमा भत्ता दिने व्यवस्था भने स्वागतयोग्य बन्यो।

यसै वर्ष रियो डे जेनेरियोमा ओलम्पिक सम्पन्न भयो। जहाँ नेपाली पौडीवाज गौरीका सिंह सबैभन्दा कम उमेरकी खेलाडीबाट चर्चित बनिन् भने अन्य नेपालीको प्रदर्शन फितलो नै रह्यो।

भलिबललाई २०७३ फाप्यो। नेपाली भलिबलले माल्दिभ्समा भएको सेन्ट्रल जोनल अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो कांस्य पदक जितेर इतिहास रच्यो। नेपाली बडी बिल्डिङले पनि पदक जित्यो। ५०औं एसियाली बडी बिल्डिङको ७५ केजी तौल समूहमा महेश्वर महर्जनले स्वर्ण पदक जित्दा ननिता महर्जनले पनि डब्लूबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा कांस्य पदक जितेर नेपाली महिला बडी बिल्डिङमा इतिहास रचिन्।

यस्तै चेसकी सुजना लोहनी ४२औं चेस ओलम्पियाडमार्फत नेपालको पहिलो महिला फिडे मास्टर बन्न सफल भइन्। यस्तै भारतको शिलोङमा भएको आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा नेपालले चार स्वर्ण, चार रजत र १ कांस्य पदक जित्न सफल भयो।

फुटबलले थप्यो उपाधि

गत वर्ष बंगबन्धु गोल्डकप उपाधि र १२औं साग पुरुष फुटबलमा स्वर्ण जितेको नेपाली फुटबलले यो वर्ष पनि उपाधि हासिल गर्यो। एएफसी सोलीडारिटी कप जितेर नेपाली फुटबलले उपाधि ह्याट्रिक गर्यो। विदेशी भूमिमा ठूलो उपाधि जितेको नेपाली फुटबलको इतिहासमा यो पहिलो घटना बन्यो।

एएफसी कप २०१७ छनोटमा समूह विजेता बनेर थ्रीस्टार क्लबले प्लेअफ छनोट पार गर्यो। तर एन्फाको लापरबाहीले दोस्रो चरणमा खेल्न नपाएपछि थ्रीस्टारले ६ करोड रुपियाँ क्षतिपूर्ति माग्यो। सूत्रका अनुसार एक करोड दिएर विवादलाई टुंग्याउने दाउमा एन्फा देखिए पनि थ्रीस्टार असहमत नै रह्यो। यस्तै थ्रीस्टारले भारतको गुवाहाटीमा भएको ६४औं संस्करणको फाइनलमा इस्ट बंगाललाई हराउँदै बोर्डो कप ट्रफी उचाल्यो।
सफलता र विवादबीच क्रिकेट
क्रिकेटको प्रदर्शन सन्तोषजनक नै रह्यो। आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले चार खेल आफ्नै घरेलु मैदानमा खेल्यो। नामिबियाविरुद्धको दुवै खेल जित्दा केन्याविरुद्ध एकमा हार र अर्कोमा विजयी बन्यो। महिला क्रिकेट भने हङकङमा भएको आईसीसी महिला विश्वकप छनोट एसियामा उपविजेता बन्यो। उपविजेता बनेर एसिया कप खेलेको सोही टोली प्रतियोगिताकै कमजोर सावित भयो।

क्रिकेट संघलाई भने विवादले छोडेन। वैशाखमा आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्यो। तर नेपाललाइ आईसीसीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने छुट दियो। क्यानलाई आईसीसीले निलम्बन गरेलगतै अखिल नेपाल फुटबल संघमा पनि भाँडभैलो मच्चिएको थियो। तर समयमै चुनाव गरेपछि समस्या समाधान भयो। नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद फेरि चर्कियो। रुक्म शमशेर राणा अध्यक्ष भएको एनओसीले सातदोबाटोस्थित एनओसी भवनमा ताला लगाइदियो। जीवनराम श्रेष्ठ र राणाबीचको विवादले नेपाली खेलकुदमा अझै अन्योल बढाएको छ।

प्रतिक्रिया दिनुहोस्