लौ आयो, माला–चक्र



नेपाल समाचारपत्र, बाँके । नचाहेको गर्भ रोक्नका लागि दैनिक परिवार नियोजनको साधन प्रयोग गरिरहनु भएको छ ? अनि, यसका लागि दैनिक औषधी खाने या कण्डमको प्रयोग गरिरहनु भएकै होला । अब भने तपाईलाई गर्भ रोक्न या चाहेको बेलामा जन्माउनका लागि औषधी र कण्डमको आवश्यकता नपर्ने भएको छ । यसका लागि बजारमा मालाचक्र आएको छ । महिनावारीको चक्र अनुसार यसले गर्भ रहने र नरहने दिन पत्ता लगाइदिन्छ । जसले गर्दा तपाईलाई औषधी खाने या कण्डम लगाउने झन्झटबाट मुक्ति मिल्न सक्छ ।

नेपाल सीआरएस कम्पनीले परिवार नियोजनको यो नयाँ विधि बजारमा ल्याएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका परिवार नियोजन सुपरभाइजर अधिकृत बसन्त गैरेका अनुसार, मालाचक्र अन्य साधनजस्तो लगाउने वा खाने नभई दम्पतिले महिलाको महिनावारीको चक्रको बारेमा ज्ञान दिई बच्चा हुन सक्ने अवधि तथा बच्चा हुन नसक्ने अवधिको बारेमा जानकारी गराई जन्म योजना गराउनको लागि मद्दत गर्दछ । उहाँले विभिन्न हर्मोनयुक्त साधनहरु प्रयोग गर्न डर मान्ने वा औषधियुुक्त साधनहरुको प्रयोगले धेरै असर भई साधन प्रयोग नगरेकाहरुले यो बिधिवाट फाईदा लिन सक्ने बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुका अनुसार, महिलाको महिनावारी भएको नौदेखि १९ दिनभित्र गर्भ रहने संभावना बढी हुन्छ । मालाचक्रले यी दिनमा दम्पतिलाई सजग गराउने गैरेले जानकारी दिनुभयो । ‘मालाचक्रमा चम्किने गेडी हुन्छन् । बच्चा जन्मिन सक्ने दिनमा यो चम्किन्छ, गैरेले भन्नुभयो, बच्चा नचाहिने भए गेडी चम्किदा दम्पति सजग हुनुपर्छ ।’
यस चक्रको विधि प्रयोग गर्ने महिलाले महिनावारी भएको पहिलो दिनदेखि मालाको प्रयोग गर्ने र हरेक दिन मालामा रहेको रिङलाई सार्ने काम गर्नुपर्छ । मालाचक्रलाई हेरेर अगाडि बढ्दा शिक्षित मात्रै होइन, अशिक्षितले पनि गर्भ रहने र नरहने दिन सजिलै पत्ता लगाउन सक्छ । यो विधिले नचाहदा नचाहदै हुने गर्भ रोक्ने र गर्भपतनलाई रेसियो घटाउने आशा गरिएको छ ।

नेपालमा प्राकृतिक साधनहरुको प्रयोगदर बृद्धि हुँदै गइरहेको र यो विश्व स्वास्थ्य संगठनबाट अत्यन्त प्रभावकारी विधिको मान्यतासमेत पाएकाले सही तरिकाले प्रयोग गरेको खण्डमा थप प्रभावकारी हुने जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्