अमेरिकाको स्कुलमा गोली चल्दा तीनको मृत्यु



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको क्यालिफोर्नियाको सान बर्नार्डिनोस्थित एउटा प्राइमरी स्कुलमा सोमबार भएको गोली काण्डमा तीन जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ। सरासर स्कुलमा पुगेका एक पुरुषले कक्षाकोठामा रहेकी आफ्नी पत्नीलाई गोली हानी मार्नेक्रममा एक जना बालकको पनि क्रस फायरमा ज्यान गएको बताइएको छ।

प्वाइन्ट ३५७ म्याग्नम रिवल्वर बोकेका ५३ वर्षीय आक्रमणकारी सेड्रिक एन्डर्सनले पछि आफैमाथि गोली चलाएर आत्महत्या गरेका थिए। उनले सो स्कुलमा पढाउने ५३ वर्षीया परित्यक्ता पत्नी करेन एलेन स्मिथलाई गोली चलाउने क्रममा आठ वर्षीय जानाथन मार्टिनेज पनि मारिएका हुन्। प्रहरीले यस घटनालाई हत्या र आत्महत्याको संज्ञा दिएको छ।
लस एन्जेल्सदेखि ९६ किमि पूर्वमा पर्ने नर्थ पार्क इलमेन्ट्री स्कुलमा सो गोलीकाण्ड भएको हो। ती बन्दुकधारीले १५ जना सुस्त मनस्थितिका विद्यार्थीको पढाइ भइरहेको कक्षा कोठामा पुगेर अचानक लुकाएर ल्याइएको रिवल्वरबाट गोली चलाएका थिए।

सान बर्नार्डिनोका प्रहरी प्रमुख ज्यार्रोड बर्गुआनले उनी पत्नीलाई केही सामान दिने बहानामा स्कुलमा प्रवेश गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। यसै वर्षको जनवरीमा विावाह भएको केही समयपछि तिनीहरु छुट्टै बस्दै आएका थिए। करिब ५ सय जना विद्यार्थी रहेको सो विद्यालय घटनालगत्तै खाली गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्